काठमाडौँ । अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका बेला महंगी भने उकालो लागेको छ । सरकारले चालु आर्थिक वर्षमा मूल्य वृद्धिको सीमा ७ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य लिए पनि सरकारको नियन्त्रण बाहिर गएको छ।
चालु वर्षको ८ महिना (साउन–फागुन) मै उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । गत वर्षको तुदनामा यो झण्डै दोब्बरले बढी हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दूधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।