काठमाडौं । नेपाली अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव र भुक्तानी सन्तुलन रहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । बढ्दो व्यापार घाटा र घट्दो विनिमय संचितिले भुक्तानीमा असन्तुलन ल्याएको बताएका हुन् ।
चालु आर्थिक वर्षको सुरूदेखि नै अर्थतन्त्रका सूचकहरू नकारात्मक हुँदैगएका छन । जसको कारण वित्तीय प्रणालीमा संकट आउने जोखिम रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्य वृद्धिले समग्र मानिसको दैनिकीमा असर गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालसँग ६.६ महिनाको वस्तु तथा सेवा आयत गर्न पुग्ने विदेशी मुद्राको संचिति रहेको छ ।
चालु वर्षको ८ महिनामै ११ खर्ब व्यापार घाटा पुगेको छ । चालुखाता र शोधान्तर स्थिति दुवै घाटामा छन् भने रेमिट्यान्स बढेको छैन । यसले गर्दा मुलुकको अर्थतन्त्रमा समस्या त ल्याएको छ नै श्रीलंकाको स्थितिमा नेपालको अर्थतन्त्र पुग्छ कि भन्ने आशंका गरिन थालिएको छ ।
कर्जाको आकार र आयात घटाउने चुनौती
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कर्जाको आकार वृद्धि र आयातले अर्थतन्त्रमा चुनौती थपेको बताए । जीडीपीको तुलनामा कर्जा लगानीमा भएको वृद्धिले तरलता बढाएको छ,’ उनले भने, ‘कोभिडको अवधिमा बन्द बनेको अर्थतन्त्रमा एकाएक आयात बढ्ला समस्या निम्तियो । आयात घटाएमात्र तरलता समाधान हुन्छ ।’
वित्तीय प्रणालीमा पैसा राख्न र निकाल्न कुनै समस्या नभएको बताए । नेपालको वित्तीय क्षेत्रले अनावश्यक वस्तुको आयात धन्न नसक्ने अवस्थामा पुगेको र सोही कारण आयातमा कडाइ गरेको मिश्रले बताए ।
‘हाम्रो क्षमताले अनावश्यक वस्तुको आयात धान्न नसक्ने अवस्थामा पुगेको छ, यस्ता वस्तुहरूको आयात केही समय पनि घटाए त्यसले सकारात्मक प्रभाव पार्छ,’ उनले भने । अवैध कारोबारबाट आउने रेमिटान्सलाई औपचारिक माध्यमबाट ल्याउन प्रोत्साहन दिनुपर्ने उनको उनले बताए ।
तरलता संकटको कारक : प्रणालीमै थुप्रिन्छ पैसा
राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले बजारबाट पैसा उठाएर प्रणालीमै थुप्रर्दा तरलता संकट आएको बताए । ‘बजारबाट पैसा उठाइन्छ राष्ट्र बैंकको ढुकुटीमा रहन्छ, संसारमा कुनै यस्तो देश छैन् जहाँ बजारबाट पैसा उठाएर ढुकुटीमा राखिन्छ,’ उनले भने, ‘सरकारले उठाएको पैसा किन केन्द्रीय बैंकमा राखिरहेको छ ?, तरलता अभावको यो मुख्य कारक हो । ‘ राष्ट्र बैंकले मध्यस्थता गरेर निजी क्षेत्रलाई निश्चित क्षेत्र तोकेर खर्च गर्न दिए तरलता समाधान हुने उनले बताए । स्थानीय तहको रकम निक्षेपमा गणना गरेर खर्च गर्नुपर्ने उनले बताए ।
अत्याधिक रूपमा पैसाको माग भए पनि सोही अनुसार पूँजीगत खर्च नभएको उनले बताए । नेपालमा तरलता अभावको समस्या दशकौँदेखिको छ । तर छोटो समयका लागि हुन्थ्यो । यसपटक भने यो समस्या लामो समयसम्म रहेको छ । कोरोनाले बन्द अवस्थामा रहेको अर्थतन्त्र एकैपटक चलायमान हुँदा हरेक क्षेत्रमा तीव्रकर्जाको माग हुँदा तरलता लम्बिएको नेपालले बताए ।
राष्ट्र बैंकले लिएको सहज नीतिका कारण तरलताको माग उच्च भयो जसको कारण आर्थिक गतिविधमा सहजता ल्याए पनि तरलताको संकट भने बढेको उनको भनाइ छ । ऐन, नियममा लचकता नभए अर्थतन्त्र अगाडि बढ्न नसक्ने उनले बताए ।
रेमिट्यान्स अर्थतन्त्र र तरलताको दिगो समाधान नभएको बताउँदै नेपालले सम्बन्धित देशको राजनीतिक परिवर्तनले हाम्रो रेमिटेन्सलाई फरक पार्ने उनको भनाइ छ । ‘यो दिगो होइन, यसमा निर्भर हुनु हुँदैन्, आजभन्दा १५ वर्ष अघि १४ वटा वस्तुहरूको पहिचान गरेर स्वदेशमा उत्पादन गरेका वस्तुहरूलाई निर्यात गर्ने भन्ने नीति बनाइएपनि केही नभएन,’ उनले भने ।
नेपालमा श्रीलंकाको अवस्था आउन नसक्ने र त्योबाटो नरहेको बताए । ‘जब हामीले निर्यात गर्न सकेनौं, त्यसले अब झन अप्ठेरो हुने देखिन्छ तर, हामी श्रीलंकाको बाटोमा पुग्दैनौँ,’ उनी भन्छन्, ‘ त्योबाटो जान हामी बिसौं वर्ष लाग्छ । तर, चुनावी घोषणा गरेर नेताहरूले यही तरीकाले अघिबढे हाम्रो अर्थतन्त्र समस्याग्रस्त हुन्छ ।’
डिजिटल करेन्सीले संसारभरका केन्द्रीय बैंकलाई चुनौती थपिएको उनले बताए । विद्युतको प्रयोग बढाएर तेलको आयात घटाउनु र रेमिटान्सलाई प्रोत्साहन दिनसके मात्रै विनिमय संचिति र तरलता समस्याको समाधान हुने उनको सुझाव छ ।
व्यापार घाटा र भुक्तानी सन्तुलनको चुनौती, श्रीलंका बन्ने त्रास
बैंकिङविज्ञ परशुराम कुँवरले नेपालको अर्थतन्त्र श्रीलंका बन्ने अवस्थामा नरहेको बताउँछन् । अहिलेको समस्या बैंकहरूले लगानीका लागि ऋण दिन नसक्ने भएको उनले बताए ।
‘सर्वसाधारणको चेक काट्नै नसक्ने गरी तरलता अभाव भएको होइन्,’ उनले भने, ‘ तर लगानीको लागि तरलता अभाव छ, अब केही समयमा उक्त समस्या समाधान हुने देखिन्छ ।’ अहिलेको जल्दो बल्दो समस्या विनिमय संचिति र तरलता अभाव भएको उनले बताए ।
हरेक महिना ठूलो मात्र भएको व्यापार घाटाले भुक्तानी सन्तुलन बिगारेको उनको भनाइ छ । साढे १७ सय अर्ब रूपैयाँ बराबरको व्यापार घाटा यस वर्ष हुने सम्भावना रहेको र त्यसलाई सन्तुलन गर्न निकै चुनौति रहेको उनले बताए ।
आगामी आव सुरू हुने अवधिसम्म साढे ८ अर्ब वैदेशिक मुद्रा संचिति घट्ने उनले बताए । ‘ हाम्रो र श्रीलंकाको अर्थतन्त्र एउटै अवस्थामा छैन्, आत्तिनु पर्ने अवस्था छैन् तर सजक हुन जरूरी छ,’ उनले भने ।
हाम्रो अर्थतन्त्र श्रीलंका भन्दा धेरै राम्रो स्थिति छ, तर अहिलेको अवस्थामा विगतको जसरी विनिमय संचिति घटे श्रीलंका कै अवस्थामा पुग्ने उनले बताए । जनस्तरमै आफैं उत्पादन गरेर वस्तुहरूको प्रयोग गर्न प्रोत्साहन गरे मात्र आयात घटाउने स्थानीय समस्याको समाधान हुने उनको भनाइ छ ।
रेटिङ ब्याजदरको आवश्यकता
वित्तीयविज्ञ वर्षा श्रेष्ठले रेटिङको आधारमा ब्याजदरको निर्धारण आवश्यक रहेक बताउँछिन् । वित्तीय विज्ञ वर्षा श्रेष्ठले रेटिङको आधारमा ब्याजदरको निर्धारण आवश्यक रहेको बताइन् ।
यसरी गरिने ब्याजदर निर्धारणले वैदेशिक लगानी आगमनमा पनि सहज हुने उनको भनाइ छ । ठूला योजनाहरूमा कर्जा लगानी बढ्दा तरलता अभाव भएको बताइन् । ‘बैंकहरूले ठूलो लगानी धेरै गरीरहेको छ । राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि नेपालमा ठूला क्षेत्रमा लगानी भइरहेको छ,’ उनले भनिन् ।
एउटै प्रकारका लगानीहरू धेरै देखिएका छन् । जसले गर्दा अस्वस्थ प्रतिस्प्रधा र चल्ने नचल्ने भन्ने जोखिम रहेको बताइन् । ठूला क्षेत्रमा लगानी वृद्धि हुँदा पैसाको माग बढेको र तरलता सृजना भएको उनको भनाइ छ ।