कोरियाको ३ वर्षको भिसा ‘क्यान्सिल’ गरेर नेपालमै कपडा उद्योग, ४५ जनालाई रोजगार

काठमाडौं । वैदेशिक रोजगारी नेपाली युवाहरुको बाध्यता हो । दैनिक १ हजार बढी युवा आफ्नो पसिना बेच्न विदेशीरहेका छन् । विदेशिने मध्ये अधिकांश युवाहरु मलेसिया, खाडी मुलुक जाने गरेका छन् भने युरोप, अमेरिका लगायत मुलुकमा कम मात्रामा मात्रै जान सक्छन् ।

 

नेपाली युवा रोजगारीमा जाने मध्येकै एक आकर्षक गन्तव्य हो दक्षिण कोरिया । कोरिया जान भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । वर्षेनी १ लाख बढी युवा भाषा परीक्षामा सामेल हुने भए पनि १० हजारभन्दा कम युवालाई मात्र उत्तिर्ण गराई कोरिया लगिँदै आएको छ ।

 

अन्य मुलुकमा जत्ति नै काम गर्दा पनि आकर्षक आम्दानी गर्न नसकिने भएकाले कोरिया रोजगारीका लागि युवाहरुको सपनाको गन्तव्य जस्तै नै बनेको छ । कोरिया जान युवाहरु मरिहत्ते गर्छन् । मेहनत गरेर भाषा सिक्छन् । भाषा पास गरेर मात्र नभई सीप परीक्षा समेत पास गर्नुपर्छ । कोरिया जान निकै मेहनत गर्नुपर्छ ।

 

निकै मेहनत गरेर कोरिया पुगेका कैलाली लम्कीचुहा नगरपालिका १ का हरिप्रसाद जैसी भने ३ वर्ष भिसा अवधि बाँकी छँदै स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्किए । ५ वर्षका लागि २०६४ सालमा भाषा परीक्षा गरेर कोरिया गएका उनी फेरि २०७१ मा काेरिया गएर २ वर्ष अवधि बाँकी छँदै नेपाल फर्किएर गार्मेन्ट (कपडा) उद्योग खोलेका छन् । अहिले उनी आफू मात्र स्वरोजगार नभई ४५ जना बढीलाई रोजगार समेत दिन सफल भएका छन् ।

 

कैलालीदेखि कोरियासम्म

 

२०४२ सालमा सुर्खेतमा जन्मेका उनले बर्दियामा माध्यमिक तहको पढाइ पूरा गरेका थिए । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट १२ पूरा गरेको उनले बीएस्सी पढ्न भने काठमाडौंको पाटन क्याम्पसमा भर्ना गरेका थिए ।

 

बिएस्सी पढ्दै गरेका उनले २०६४ सालमा ईपीएसको परीक्षा हुँदै गरेको चाल पाएका थिए । उक्त समयमा पढाईसँगै कोरियाका लागि पनि ईपीएसको परीक्षाको तयारी गर्दै गरेका उनले पहिलो प्रयासमै नाम निकाले । र पहिलो चरणमै कोरिया गए ।

 

सानो छँदै बुबा बितेपछि उनका दाजु भद्रप्रसाद जैसी भारतमा काम गर्दै घर खर्च चलाई रहेका थिए । कोरिया गएपछि उनले गएको २ वर्षमै आफ्नो दाजुका लागि फेन्सी पसल खोलेका थिए । १४ वर्षदेखि भारतमा काम गर्दै गरेका दाजु भाइले १० लाख हालेर पसल खोलिदिँदा उनी गदगद थिए ।

 

कोरियामा खासै बस्न नचाहेका उनी ५ वर्षमा ३ पटकसम्म नेपाल बिदामा फर्केका थिए । नेपाल आउँदा हरेक पटक उनले नेपालमै फर्केर के गर्न सकिन्छ भनेर चासो राखिरहेका थिए ।

त्यसैक्रममा उनले २०७० सालमा आफ्नो छोरीको नामबाट ‘कुरुणा गार्मेण्ट’ भनेर उद्योगको नाम दर्ता गराएका थिए । सुरूआतमा ८ जना कामदार राखेर उद्योग सुरू संचालनमा ल्याएका थिए । २५ लाख लगानीमा खोलिएको कपडा गार्मेन्टमा कच्चा पदार्थ भने चीनबाट ल्याउने गरेको उनले बताए ।

 

उद्योग खोलेपछि केही रकम कमी आएकाले उनी फेरि ३ महिनापछि कोरिया लागे । कोरिया पुगेको २ वर्ष नबित्दै उनी ३ वर्षको भिसा क्यान्सिल गरेर नेपाल फर्किए । उद्योगलाई ठूलो र अझै राम्रोसँग अघि बढाउने सोचका साथ उनी २०७३ मा सधैंका लागि नेपाल फर्किएका थिए ।

 

उनले नेपाल फर्केपछि १० धुर जमिनमा १८०० स्क्वायर फिटमा टहरा बनाएर पुनः उद्योग संचालन गरे । हाल उक्त उद्योग ३६०० स्क्वायर फिटमा विस्तार भइसकेको छ ।

 

४५ जनालाई रोजगार, ६ करोडको कारोबार

 

आफ्ना कर्मचारीलाई वार्षिक ७ लाख रुपैयाँ हाराहारीमा तलब दिएका उनले आफ्नै लागि २ वटा घर निर्माण गरेका छन् । एउटामा उद्योगको गोदाम नै राखेको बताए ।

ढुवानीमा सहजताका लागि उनले आफ्नै स्कर्पियो किनेका छन् भने दाजुभाइ दुवैजनाका लागि २ वटा मोटरसाइकल किनेका छन् । वार्षिक ६ करोडको व्यापार गर्ने गरेका उनले हाल ४५ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेका छन् ।

 

माग अनुसारको विद्युत् नपाउँदा समस्या

 

सुरूमा ८ वटा मेसिन राखेर गार्मेन्ट सुरू गरेका उनले हाल उद्योग बढेपछि विद्युत्को भोल्टेज थोरै हुँदा समस्या परेको बताए । सुरूमा सामान्य ४ फेजको भोल्टेजले काम भइरहे पनि हाल उद्योग बढाउँदा थोरै भोल्टेजको मिटर भएकाले आमा, दाजु र आफ्नो नाममा छुट्टा छुट्टै मिटर राखेर चलाउनु परेको उनले बताए । उनले प्राधिकरणमा बारम्बार पहल गरे पनि सुनुवाइ नभएको बताए । हाल उनले १६ एमपीएयलको ६ वटा मिटर लगाएर उद्योगलाई निरन्तर्ता दिइरहेका छन् ।

‘सुरूमा मेसिन पनि थोरै थियो, उद्योग थोरै भोल्टेजले चल्थ्यो, अहिले उद्योग ठूलो भयो भोल्टेज थोरै नै छ, त्यसले पुग्दैन, बारम्बार प्राधिकरणमा भने पनि केही समाधान भएको छैन,’ जैसीले भने ।

 

भन्सार छलेर ल्याएका सामानसँग प्रतिस्पर्धा गर्न गाह्रो

 

भारतको बोर्डर नजिकै हुँदा भन्सार छली गरेर सामान आयतकर्ताहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताए । ‘भन्सार छलेर सामान भित्राउनेहरूसँग प्रतिसपर्धा गरेर सामान बेच्नुपर्दा नाफा नखाईकन पनि बेच्नुपर्ने अवस्था सृजना भएको छ,’ जैसीले भने ।

 

पूर्ण रूपमा मध्यम वर्गीहरूका लागि बन्ने कपडा भएकाले ४० देखि ६ सय रुपैयाँका कपडा उत्पादन गर्दै आएको उनले बताए । उनले उक्त कपडा आफ्नै फेन्सी पसलबाट विक्री गर्ने गरेका छन् ।

 

सुरूमा ग्राहक खोज्दै कपडा विक्री गर्ने गरेका उनको पसलमा हाल ग्राहक आफैं खोजी खोजी आउने गरेका छन् । ‘सुरूमा त अरुलाई मेरो सामान किन्नु भन्नु पर्थ्यो, अहिले उहाँहरू आफैं आएर किन्नुहुन्छ,’ उनले भने ।

 

उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारद्धारा समेत सम्मानीत भएका छन् ।

 

नेप्सेमा ८८ अंकको चतरचढाव, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Previous

नेप्सेमा ८८ अंकको चतरचढाव, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने त्रासले सताएको छ : उपाध्यक्ष श्रेष्ठ Read Next

अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने त्रासले सताएको छ : उपाध्यक्ष श्रेष्ठ