काठमाडौं । वैदेशिक रोजगारी नेपाली युवाहरुको बाध्यता हो । दैनिक १ हजार बढी युवा आफ्नो पसिना बेच्न विदेशीरहेका छन् । विदेशिने मध्ये अधिकांश युवाहरु मलेसिया, खाडी मुलुक जाने गरेका छन् भने युरोप, अमेरिका लगायत मुलुकमा कम मात्रामा मात्रै जान सक्छन् ।
नेपाली युवा रोजगारीमा जाने मध्येकै एक आकर्षक गन्तव्य हो दक्षिण कोरिया । कोरिया जान भाषा परीक्षा पास गर्नुपर्ने हुन्छ । वर्षेनी १ लाख बढी युवा भाषा परीक्षामा सामेल हुने भए पनि १० हजारभन्दा कम युवालाई मात्र उत्तिर्ण गराई कोरिया लगिँदै आएको छ ।
अन्य मुलुकमा जत्ति नै काम गर्दा पनि आकर्षक आम्दानी गर्न नसकिने भएकाले कोरिया रोजगारीका लागि युवाहरुको सपनाको गन्तव्य जस्तै नै बनेको छ । कोरिया जान युवाहरु मरिहत्ते गर्छन् । मेहनत गरेर भाषा सिक्छन् । भाषा पास गरेर मात्र नभई सीप परीक्षा समेत पास गर्नुपर्छ । कोरिया जान निकै मेहनत गर्नुपर्छ ।

निकै मेहनत गरेर कोरिया पुगेका कैलाली लम्कीचुहा नगरपालिका १ का हरिप्रसाद जैसी भने ३ वर्ष भिसा अवधि बाँकी छँदै स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्किए । ५ वर्षका लागि २०६४ सालमा भाषा परीक्षा गरेर कोरिया गएका उनी फेरि २०७१ मा काेरिया गएर २ वर्ष अवधि बाँकी छँदै नेपाल फर्किएर गार्मेन्ट (कपडा) उद्योग खोलेका छन् । अहिले उनी आफू मात्र स्वरोजगार नभई ४५ जना बढीलाई रोजगार समेत दिन सफल भएका छन् ।
कैलालीदेखि कोरियासम्म
२०४२ सालमा सुर्खेतमा जन्मेका उनले बर्दियामा माध्यमिक तहको पढाइ पूरा गरेका थिए । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट १२ पूरा गरेको उनले बीएस्सी पढ्न भने काठमाडौंको पाटन क्याम्पसमा भर्ना गरेका थिए ।
बिएस्सी पढ्दै गरेका उनले २०६४ सालमा ईपीएसको परीक्षा हुँदै गरेको चाल पाएका थिए । उक्त समयमा पढाईसँगै कोरियाका लागि पनि ईपीएसको परीक्षाको तयारी गर्दै गरेका उनले पहिलो प्रयासमै नाम निकाले । र पहिलो चरणमै कोरिया गए ।
सानो छँदै बुबा बितेपछि उनका दाजु भद्रप्रसाद जैसी भारतमा काम गर्दै घर खर्च चलाई रहेका थिए । कोरिया गएपछि उनले गएको २ वर्षमै आफ्नो दाजुका लागि फेन्सी पसल खोलेका थिए । १४ वर्षदेखि भारतमा काम गर्दै गरेका दाजु भाइले १० लाख हालेर पसल खोलिदिँदा उनी गदगद थिए ।
कोरियामा खासै बस्न नचाहेका उनी ५ वर्षमा ३ पटकसम्म नेपाल बिदामा फर्केका थिए । नेपाल आउँदा हरेक पटक उनले नेपालमै फर्केर के गर्न सकिन्छ भनेर चासो राखिरहेका थिए ।

त्यसैक्रममा उनले २०७० सालमा आफ्नो छोरीको नामबाट ‘कुरुणा गार्मेण्ट’ भनेर उद्योगको नाम दर्ता गराएका थिए । सुरूआतमा ८ जना कामदार राखेर उद्योग सुरू संचालनमा ल्याएका थिए । २५ लाख लगानीमा खोलिएको कपडा गार्मेन्टमा कच्चा पदार्थ भने चीनबाट ल्याउने गरेको उनले बताए ।
उद्योग खोलेपछि केही रकम कमी आएकाले उनी फेरि ३ महिनापछि कोरिया लागे । कोरिया पुगेको २ वर्ष नबित्दै उनी ३ वर्षको भिसा क्यान्सिल गरेर नेपाल फर्किए । उद्योगलाई ठूलो र अझै राम्रोसँग अघि बढाउने सोचका साथ उनी २०७३ मा सधैंका लागि नेपाल फर्किएका थिए ।
उनले नेपाल फर्केपछि १० धुर जमिनमा १८०० स्क्वायर फिटमा टहरा बनाएर पुनः उद्योग संचालन गरे । हाल उक्त उद्योग ३६०० स्क्वायर फिटमा विस्तार भइसकेको छ ।
४५ जनालाई रोजगार, ६ करोडको कारोबार
आफ्ना कर्मचारीलाई वार्षिक ७ लाख रुपैयाँ हाराहारीमा तलब दिएका उनले आफ्नै लागि २ वटा घर निर्माण गरेका छन् । एउटामा उद्योगको गोदाम नै राखेको बताए ।

ढुवानीमा सहजताका लागि उनले आफ्नै स्कर्पियो किनेका छन् भने दाजुभाइ दुवैजनाका लागि २ वटा मोटरसाइकल किनेका छन् । वार्षिक ६ करोडको व्यापार गर्ने गरेका उनले हाल ४५ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेका छन् ।
माग अनुसारको विद्युत् नपाउँदा समस्या
सुरूमा ८ वटा मेसिन राखेर गार्मेन्ट सुरू गरेका उनले हाल उद्योग बढेपछि विद्युत्को भोल्टेज थोरै हुँदा समस्या परेको बताए । सुरूमा सामान्य ४ फेजको भोल्टेजले काम भइरहे पनि हाल उद्योग बढाउँदा थोरै भोल्टेजको मिटर भएकाले आमा, दाजु र आफ्नो नाममा छुट्टा छुट्टै मिटर राखेर चलाउनु परेको उनले बताए । उनले प्राधिकरणमा बारम्बार पहल गरे पनि सुनुवाइ नभएको बताए । हाल उनले १६ एमपीएयलको ६ वटा मिटर लगाएर उद्योगलाई निरन्तर्ता दिइरहेका छन् ।

‘सुरूमा मेसिन पनि थोरै थियो, उद्योग थोरै भोल्टेजले चल्थ्यो, अहिले उद्योग ठूलो भयो भोल्टेज थोरै नै छ, त्यसले पुग्दैन, बारम्बार प्राधिकरणमा भने पनि केही समाधान भएको छैन,’ जैसीले भने ।
भन्सार छलेर ल्याएका सामानसँग प्रतिस्पर्धा गर्न गाह्रो
भारतको बोर्डर नजिकै हुँदा भन्सार छली गरेर सामान आयतकर्ताहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताए । ‘भन्सार छलेर सामान भित्राउनेहरूसँग प्रतिसपर्धा गरेर सामान बेच्नुपर्दा नाफा नखाईकन पनि बेच्नुपर्ने अवस्था सृजना भएको छ,’ जैसीले भने ।
पूर्ण रूपमा मध्यम वर्गीहरूका लागि बन्ने कपडा भएकाले ४० देखि ६ सय रुपैयाँका कपडा उत्पादन गर्दै आएको उनले बताए । उनले उक्त कपडा आफ्नै फेन्सी पसलबाट विक्री गर्ने गरेका छन् ।

सुरूमा ग्राहक खोज्दै कपडा विक्री गर्ने गरेका उनको पसलमा हाल ग्राहक आफैं खोजी खोजी आउने गरेका छन् । ‘सुरूमा त अरुलाई मेरो सामान किन्नु भन्नु पर्थ्यो, अहिले उहाँहरू आफैं आएर किन्नुहुन्छ,’ उनले भने ।
उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारद्धारा समेत सम्मानीत भएका छन् ।