काठमाडौं । सेयर बजार तीव्र उतरचढाव आएको छ । बजार खुलेको १० मिनेटमै ४४ अंकले बढेको नेप्से ४४ अंकले नै घटेर बन्द भएको छ । दिनभरमा नेप्सेमा ८८ अंकको उतरचढाव आएको छ ।
सूचकमा तीव्र उतरचढाव देखिए पनि कारोबार रकममा भने ठूलो उतरचढाव आएको छैन । गत साता औसतमा दैनिकमा २ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज सवा २ अर्बको कारोबार भएको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह पनि ३ प्रतिशतले घटेको छ ।
आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, निफ्रा ७ करोड र नबिल बैंक पौने ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने जाल्पा लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज दुई कम्पनीकै सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।
त्यसैगरी, नेपाल टेलिकम ६.१९, हिमालयन पावर ५.६३, नेपाल लाइफ ५.०५, मैलुङ खोला, शिव श्री, सामलिङ पावर, बुद्धभूमि नेपाल, कालिका पावर, लिबर्टी इनर्जी र मध्यभोटेकोशीको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।