काठमाडौं । चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवस २०७८ सम्पन्न भएको छ । चेम्बरको सभा आइतबार सोल्टी होटलमा सम्पन्न भएको हो ।
सभाकका प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टचार बजेट र पैसासँग मात्र सम्बन्धित नहुने बताएका छन् । उनले पछिल्लो समय देशको निष्ठामा ह्रास आएको बताउँदै भ्रष्टाचार पैसासँग मात्र सीतिम नभएको बताएका हुन् ।
उनले पछिल्लो समय देशले ३ वटा संकटको सामना गरिरहेको बताए । ‘देशमा अहिले ३ वटा संकट आएको छ । हामीले कोरोना भाइरस, राजनीतिक उतरचढाव र जलवायु परिवर्तनको सामना गरिरहनु परेको छ,’ उनले भने ।
यस्तै, मुख्य सचिव शंकरदास बैरागीले सरकार र निजी क्षेत्रको फरक हेराइ नभएर साझा उदेश्यको लागि आपसमा बाँधिएको सम्बन्धको रुपमा हेर्नुपर्ने बताए ।व्यापारमैत्री वातारण निर्माणमा सरकारले भरपुर सहयोग गरेको बताउँदै मुख्य सचिव बैरागीले निजी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताए ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात बढाएर आयात घटाउनु पर्ने कुरामा जोड दिए । ‘नेपालको सम्पुर्ण निर्यातले पेट्रोलियम पदार्थ मात्र आयात गर्न नि पुग्दैन, अब नेपालको आयात घटाएर निर्यात बढाउनुपर्छ’ उनले भने ।
अध्यक्ष मल्लले आर्थिक समस्या तत्काल समाधान गर्न सरकारले अवश्यक कदम चाल्नु पर्ने र त्यसका लागि चेम्बर तयार रहेको समेत बताए । विगत ७० वर्षदेखि चेम्बरले निजी क्षेत्र र सरकारबीच भूमिका खेल्दै आएको र आगामी दिनमा पनि यस्तै भूमिकामा रहने उनको भनाइ छ ।