काठमाडौं । नुवाकोटको विदुरमा विगत ५ वर्षदेखि सञ्चालनमा रहेको होटल वाटर टावर अब सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा चल्ने भएको छ ।
नेपालमा होटल व्यवस्थापन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीले नुवाकोटमा समेत आफ्नो सेवा विस्तार गरेको हो । आगामी नयाँ वर्ष (२०७९ वैशाख १ गते) देखि उक्त होटलको व्यवस्थापन सिद्धार्थ हस्पिटालिटीले गर्ने भएको हो ।
होटलका सञ्चालक ध्रुवप्रसाद रिमालका अनुसार अब होटल ‘सिद्धार्थ होटल वाटर टावर’को नामबाट सञ्चालनमा आउने भएको हो । होटल वाटर टावरमा ३३ वटा सुविधा सम्पन्न कोठा, सभाहल, रेष्टुरेन्ट तथा बारलगायत सुविधा छन् ।
यस होटलले निकट भविष्यमा ५०० जनाभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लब, डाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचना थप्ने समेत रिमालले बताए ।
होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले २९ वटा शाखामार्फत सेवा दिइरहेको छ । सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारी छ ।