काठमाडौं । व्यवसायी पृथ्वीबहादुर शाहले राष्ट्र बैंकका अधिकारीहरु माथि २५ प्रतिशत कमिसन नदिँदा आफ्नो सबै कारोबार रोक्का गरिदिएको गम्भीर आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै अछामका शाहले राष्ट्र बैंक भित्रकै अधिकारीहरुलाई सो कमिसन नदिँदा खाता रोक्का गरिदिएको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले आफ्नो खातामा अमेरिकाबाट आएको १२ लाख अमेरिकी डलर (१४ करोड बढी नेपाली रुपैयाँ) रोक्का गरेर उनले बताए । राष्ट्र बैंकका कर्मचारीले सो रकम खुला गर्न कमिशन मागेको र आफूले नदिँदा उक्त रकम २ वर्षदेखि रोक्का गरिएको उनले बताए ।
‘राष्ट्र बैंक स्वायत्त निकाय भनिए पनि त्यहाँ केही संञ्जाल छ, म जस्ता हजारौँ पीडित छन, म पनि त्यही पीडामा छु, कमिसन दिँन नसक्दा मेरो सबै चौपट भयो,’ उनले भने, ‘ कुल रकमको २५ प्रतिशत करिब ३ करोड माग गरेका थिए सो विषय इन्कार गर्दै कमजोरी भए सम्पूर्ण रकम जफत गर्न चुनौती दिएको थिए ।’
केही संचार माध्यमा रोक्का गरिएको रकम ४० करोड भनेर झुटो समाचार आएको भन्दै शाहले आफ्नो रकम १२ लाख अमेरिकी डलर (करिब रु १४ करोड) मात्र भएको बताए । उनले दुई महिनादेखि रकम रोकिएको भन्ने राष्ट्र बैंकको दाबी गलत भएको भन्दै भन्दै दुई वर्षदेखि रोकिएको बताए ।
विगत दुई वर्ष बन्दाबन्दी हुनुपुर्वदेखि विभिन्न बैंकहरूमा ट्रभल्स र रेमिटेन्सको प्रयोजनका लागि नेपालमा घुम्न आउने तथा लगानी गर्न आउने उद्देश्यले विदेशी कम्पनीमार्फत विदेशी नागरिकले आफ्नो कम्पनीमा रकम पठाएको उनको दाबी छ ।
शाहले विगत १६ वर्षदेखि होली डे एन्ड ट्राभल्स, पे सेफ रेमिटेन्स (देशभर २५ वटा शाखा) हार्डवेयर एक्पोट/इम्पोर्ट व्यावसाय, रियल स्टेट र सहकारी सञ्चालन गदै आएको बताए ।
राष्ट्र बैंकले उक्त रकमलाई राष्ट्र बैंकले खाता रोक्का गरी छानविन गर्न सीआइबीमा पठाएको थियो । सीआइबीको अनुसन्धानबाट केही कमजोरी फेला नपरे पपिछ थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको उनले बताए ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दा कुनै पनि कमजोरी नदेखिएपछि विसं २०७८ माघ १७ गते खाता फुकुवाका लागि राष्ट्र बैंकलाई पत्र लेखि पठाएको थियो । सो पत्र प्राप्त हुँदा पनि हालसम्म राष्ट्र बैंकले विभिन्न बहाना बनाएर खाता नखोलेको उनको भनाइ छ ।
त्यसपछि पनि राष्ट्र बैंकले खाता फुकुवा नगरेपछि आफूले अर्थमन्त्री जनार्दन शर्मालाई निवेदन लेखेको उनले बताए । राष्ट्र बैंकले कुनै पनि कारणबाट आफूलाई फसाउन नसक्ने भएपछि त्यहाँका अधिकारीबाट पत्रकारलाई झुटा र भ्रमक तथ्य दिएर समाचार बनाउन लगाएको उनको आरोप छ ।
राष्ट्र बैंकले कारोबार रोक्दा दुई वर्षमा आर्थिक कारोबार डामाडोल भएर ६० जना कर्मचारीलाई तलब दिन नसकेको उनले बताए । ‘मेरो सम्पूर्ण चलअचल सम्पत्ति बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको मैलै आफूले चढ्दै आएको गाडीसमेत बेचेर कर्मचारीलाई तलब खुलाएको अवस्था छ,’ उनले भने, ‘साथीभाइ र विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको ऋण तीर्न नसक्दा म मानशिक रुपमा प्रताडित भएको छु देशमा केही गरौं भन्ने युवालाई यस खालको प्रताडन दिइन्छ भने देशको आर्थिक विकास कसरी हुन्छ ?’
उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि सम्पूर्ण निकायसँग आग्रह गरे । साथै आफ्नो कारणबाट जनार्दन शर्माको नाम जोड्नु दुखद भएको बताए । शाहले हालसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्य नरहेको बताए ।