सांसदको पेट्रोल पम्पमा मुख्यमन्त्रीले डोजर चलाएपछि…

लखनऊ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक जग्गामा बनेका अवैध भवन र संरचना भत्काउने अभियानलाई तीव्रता दिएका छन्।

 

हालै निर्वाचनबाट दोस्रोपटक सत्तामा आएका योगीले वहालवाला सांसद र मन्त्रीले नै अवैध रुपमा बनाएका संरचना पनि भत्काउन थालेका हुन् । जसका कारण उनलाई अहिले यूपीमा ‘बाबा बुलडोजर’का नामले पनि चिनिन थालिएको छ।

 

यसैक्रममा, बिहीबार यूपीको बरेलीमा एक सांसदको अवैध पेट्रोल पम्पमा योगीले डोजर लगाएर भत्काएका छन्। बरेलीमा समाजवादी पार्टीका विधायक शहजिल इस्लामको पेट्रोल पम्पमा प्रशासनबाट डोजर लगाएर संरचना ध्वस्त पारेका हुन्।

 

समाचार एजेन्सी एएनआईका अनुसार पेट्रोल पम्प अवैध तरिकाले नक्सा पास नगरी बनाइएको थियो। बुधबार बरेलीमै बसपा नेता तथा ब्लक प्रमुख योगेश पटेलको म्यारिज हल अवैध भन्दै डोजर चलाइएको थियो।

 

बरेली विकास प्राधिकरणका नयाँ उपाध्यक्ष जोगेन्द्र सिंह आएसँगै यस क्षेत्रमा अवैध निर्माणमाथि कारवाहीलाई तीव्रता दिइएको छ। वक्यौता असुली तथा सरकारी जमिनमा भएको कब्जा हटाउने अभियान जारी छ।

 

पेट्रोल पम्प भत्काइएका सांसद इस्लामले केही दिनअघि मुख्यमन्त्री आदित्यनाथविरुद्ध बोलेका थिए। उनले भनेका थिए, ‘अब एक मजबुत विपक्ष यूपीमा छ । यदि सदनका नेता आदित्यनाथको मुखबाट एउटा पनि आवाज निस्कियो भने हाम्रो बन्दुकबाट धुवा होइन गोली निस्कनेछ।’ यो वयान यूपीमा निकै विवादित बनेको थियो। -एजेन्सी

‘दुग्धजन्य पदार्थ आयात रोक्दा आत्मनिर्भर बन्न बल पुग्छ’ Read Previous

‘दुग्धजन्य पदार्थ आयात रोक्दा आत्मनिर्भर बन्न बल पुग्छ’

नुवाकोटको 'होटल वाटर टावर' अब सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा चल्ने Read Next

नुवाकोटको 'होटल वाटर टावर' अब सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा चल्ने