‘दुग्धजन्य पदार्थ आयात रोक्दा आत्मनिर्भर बन्न बल पुग्छ’

काठमाडौं । नेपाल कृषि प्रधान देश हो । तर, हरेक दैनिक उपभोग्य वस्तु विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । तरकारी, फलफूल, माछामासु, दाल, चामल लगायत खाद्यान्न आयात हुँदै आएको छ । जसबापत वर्षेनी खर्बौं रुपैयाँ बाहिरिने गरेको छ । जस मध्ये दुग्धजन्य पदार्थ पनि एक आयादिन वस्तु भित्रपर्छ । जसको कारण वर्षेनी खर्बो रुपैयाँ बाहिरिने गरेको छ ।

 

सरकारले नेपाललाई दूधमा आत्मनिर्भर भनेर घोषणा गरेको छ । तर, दूध उत्पादन कम हुने भएकाले दुग्धजन्य वस्तु भने विदेशबाटै आयात हुँदै आएको छ । डेरी प्रोडक्टहरु बोटल दूध, चिज, पनिर, खुवा, बटर पाउडर दूध, दुग्धजन्य मिठाइ आयात हुँदै आएको छ ।

 

सरकारले दूध आयातमा रोक लगाए पनि अन्य डेरी प्रोडक्ट भने आयात भइरहेको छ । नेपालमा आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था नहुँदा डेरीजन्य प्रोडक्ट आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

 

यसैबीच, नेपाल राष्ट्र बैंकल गत सोमबार करिब ३०० वटा वस्तुको आयातमा प्रतीतिपत्र खोल्न रोक लगाएको छ । राष्ट्र बैंकले गाडी, सुन मात्र होइन दैनिक उपभोग हुने वस्तुको आयातसँगै दुग्धजन्य पदार्थको आयामा रोक लगाएको हो ।

 

राष्ट्र बैंककले दुग्धजन्य पदार्थको रोक लगाउँदा दूध उत्पादन वृद्धि गर्न बल पुग्ने डेरी एशोसिएसनले बताएको छ । एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा ढिलै भए पनि सरकारले आफूहरुको माग सम्वोधन गरेको बताउँछन् ।

 

‘हामी लामो समयदेखि दूध मात्र नभएर दुग्धजन्य सबै पदार्थ आयातमा रोक लगाउनु पर्छ भन्ने पक्षमा थियौं र माग पनि गरेका थियौं । अन्ततः हाम्रो मागअनुसार नै राष्ट्र बैंकले आयातमा रोक लगाएको छ, यो राम्रो कुरा हो, आयातमा रोक लागेपछि आत्मनिर्भर बन्न बल पुग्छ,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

बाहिरबाट दुग्धजन्य पदार्थ नआउँदा नेपालमै उत्पादन वृद्धि हुने उनले बताए । नेपालमै दुग्धजन्य वस्तुको उत्पादन बढ्दा कृषकको व्यवसाय बढ्नुका साथै रोजगारी समेत वृद्धि हुने उनको भनाइ छ ।

 

‘आयात रोक्दा अहिले विदेशबाट आइरहेका वस्तुहरु नेपालमै उत्पादन हुन थाल्छन् । यसले नेपाललाई दुग्धजन्य वस्तुमा आत्मनिर्भर बन्न सहयोग पुर्याउँछ,’ उनले भने ।नेपालमा वर्षेनी २ अर्ब बढीको दुग्धजन्य पदार्थ आयात हुँदै आएको छ । स्वदेशमै दुग्धजन्य पदार्थ उत्पादन गर्दा उक्त रकम बाहिरन समेत रोकिने उनले बताए ।

 

नेपालमा माग अनुसार दूध उत्पादन नहुँदा विदेशबाट दुग्धजन्य वस्तु आयात गरिँदै आएको बताइनछ । आयात रोक्दा उत्पादन बढाउन कृषकहरु उत्साहित हुने उनले बताए । ‘हाम्रो उत्पादनले ८० प्रतिशत माग धानेको छ, बाँकी २० प्रतिशत माग धान्न उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘अहिले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग संचालनमा आएका छन्, यसले दूध संकलन बढाउन सकिन्छ, किसान उत्साहित हुन्छन्, हाम्रो उत्पादनले पुग्छ ’ ।दुग्धजन्य पदार्थ आयात हुँदा किसान निराश हुुँदैआएको एशोसिएशनको भनाइ छ ।

 

दैनिक १६ लाख लिटर दूध अपुग

 

मुलुकलाई दूधमा आत्मनिर्भर घोषणा गरिए पनि अझै माग अनुसार दूध उत्पादन हुन सकेको छैन । नेपालमा दैनिक ७८ लाख लिटर दूध माग हुने गरे पनि ६२ लाख लिटर मात्र उत्पादन हुँदै आएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार दैनिक मागभन्दा झन्डै १६ लाख लिटर दूध अपुग हुन्छ ।

 

नेपाल दूधमा ८० प्रतिशत मात्र आत्मनिर्भर भएको नेपाल डेरी एशोसिएसनले जनाएको छ । ‘नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । मागभन्दा झन्डै १६ लाख लिटर अपुग हुन्छ । दुग्धजन्य वस्तु निर्माणका लागि दूध अपुग भएपछि विदेशबाट डेरीजन्य प्रोडक्ट आयात हुँदै आएको छ,’ सापकोटाले भने ।

 

उनका अनुसार उत्पादन हुने आधा मात्र दूध बजारमा आउने गरेको छ । ‘दैनिक उत्पादन हुने ६२ लाख लिटर दूधमध्ये ५० प्रतिशत उत्पादक आफैंले प्रयोग गर्छन । बाँकी ५० प्रतिशतको पनि ३१ प्रतिशत मात्रै दूध बजारमा औपचारिक क्षेत्र (विभिन्न डेरी उद्योगमा आउने गरेको छ, झन्डै ७० प्रतिशत अनौपचारिक क्षेत्रमा (मिडल म्यानले घरघर वा होटल,रेष्टुरेन्ट सम्म पुर्याउने) प्रयोग हुने गरेको छ,’।

 

सापकोटाका अनुसार नेपालमा दैनिक उत्पादन हुने दूध मध्ये ८५ प्रतिशत दूध लिक्वीड दूधमा जान्छ भने बाँकी १५ प्रतिशतको दूधको मात्र अन्य (दही, खुवा, मिठाई लगायत) उत्पादन गरिन्छ ।

 

एशोसिएसनले भने नेपालमा बढी दूध उत्पादन हुने (भदौदेखि माघ सम्म)महिनामा बजारमा दूधको माग कम हुने भएकाले त्यो समयको दूध पाउडर बनाएर राख्ने र कम उत्पादन हुने(फागुनदेखि साउनसम्म) समयमा प्रयोग गर्दै आएको बताएको छ । कम उत्पादन हुने समयमा ३० देखि ३५ प्रतिशत उत्पादन घट्ने गरेको एशोसिएसनको भनाइ छ ।

 

किसानलाई मर्का नपरोस् भनेर बढी उत्पादन भएको स्थानमा गएर समेत खरिद गरेर धुलो दूध बनाउँदै आएको र कम उत्पादन हुने समयमा प्रयोग गर्दै आएको बताएको संघ राष्ट बैंकको निर्णयले अन्य क्षेत्रमाअसर गरे पनि डेरी क्षेत्रलाई भने राहात मिलेको बताउँछ ।

 

नेपालमै बन्यो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने इलेक्ट्रीक स्कुटर, यस्तो छ लागत Read Previous

नेपालमै बन्यो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने इलेक्ट्रीक स्कुटर, यस्तो छ लागत

सांसदको पेट्रोल पम्पमा मुख्यमन्त्रीले डोजर चलाएपछि... Read Next

सांसदको पेट्रोल पम्पमा मुख्यमन्त्रीले डोजर चलाएपछि...