आयातमा कडाइ : अब बैंकहरूको कर्जा लगानीको प्राथमिकतामा कुन क्षेत्र पर्ला ?

काठमाडौं । अर्थतन्त्रका सूचकहरू नकारात्मक बन्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले विलासी तथा सवारी साधन लगायत ३०० बढी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो ।

 

योसँगै अब बैंकहरूले उपभोग्य वस्तुहरूमा दिँदै आएको कर्जा लगानी निरुत्साहीत हुने भएको छ । अनुत्पादक भए पनि यस क्षेत्रमा गरिएको लगानी खराब कर्जामा परिणत हुने जोखीम कम हुनुका साथै छोटो समयमा राम्रो आम्दानी हुने भएकाले बैंकहरूले लगानी गर्ने गरेका छन् । जसका कारण पनि वस्तु आयातमा प्रोत्साहन पुगेको छ ।

 

बढ्दो व्यापार घाटा र घट्दो विदेशी मुद्रा संचितिका कारण अर्थतन्त्रमा समस्या आएको नियामकको विश्लेषण छ । राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । जुन ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

 

चालु आर्थिक वर्षको ८ महिनामा (साउन–फागुन) नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब रुपैयाँ घाटामा छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले आफ्ना शाखाहरूलाई एलसी नखोल्न सर्कुलर नै जारी गर्न थालेका छन ।

 

मदिरा, चकलेट, सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, जुत्ता चप्पल, मार्बल, काठका सामान सवारीसाधन, सुनचाँदी, प्लाष्ट्रिक जन्य वस्तुहरू लगायत आयातका लागि अब बैंकहरूले एलसी नखोल्ने भएका हुन ।

 

अब कर्जा लगानीमा बैंकको प्राथमिकताको क्षेत्र कुन ?

 

व्यापारमा जाने कर्जामा लगाम लागेसँगै अब बैंकहरूले कर्जा लगानीका लागि कुन क्षेत्रलाई प्राथमितामा राख्लान भन्ने चासो बढेको छ । पछिल्लो समय चरम तरलता अभाव भोग्दै आएका बैंकहरूसँग लगानी गर्ने प्रशस्त रकम छैन । माग अनुसार कर्जा दिन नसके पनि उनीहरूले केही क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा दिने गरेका छन् ।

 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल अहिलेको अवस्थामा बैंकहरूका लागि कर्जा लगानी गर्नसक्ने उपयुक्त क्षेत्र कृषि भएको बताउँछन् ।

 

‘अहिलेको अवस्थामा ठूलो मात्रामा ऋण दिनसक्ने क्षमतामा कुनै पनि बैंकहरू छैनन,’ उनले चाणक्य पोष्टसँग भने, ‘उत्पादनमूलक क्षेत्रमा बैंकहरूले अहिले पनि लगानी गरिरहेकै छन, गर्नै पर्छ । कृषिमा स-साना धेरै कर्जा जान्छन र उत्पादनमुखी पनि हुन्छ, त्यसैले कर्जा लगानीको लागि कृषि क्षेत्र अहिले उपयुक्त हो ।’

 

अहिलेको अवस्थामा कृषिमा जानुपर्ने बाध्यता पनि भएको उनले बताए । राष्ट्र बैंकले पनि कर्जा लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई क्षेत्रगत रूपमा अनिवार्य सीमा तोकिदिएको छ ।

 

राष्ट्र बैंकले कृषिमा बैंकहरूले कुल लगानीको न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । चालु आवको पुस मसान्तसम्म बैंकहरूले कृषिमा कुल कर्जा रकमको ११.११ प्रतिशत मात्र ऋण लगानी गरेकाले पनि अब यस क्षेत्रमा थप लगानी गर्नुपर्ने बैंकहरूलाई बाध्यता छ ।

 

यस्तै, सानो सानो रकम लगानी गर्दा हुने भएकाले बैंकहरू लघु, घरेलु तथा मझौला उद्योगलाई पनि प्राथमितामा राख्न सक्ने देखिन्छ । यस क्षेत्रमा पनि बैंकहरूले अनिवार्य रूपमा कुल कर्जा रकमको १५ प्रतिशत कर्जा लगानी गुर्नपर्ने व्यवस्था छ ।

 

तत्काल बैंकहरूसँग कर्जा लगानी गर्ने रकम नभएकाले ठूलो रकम अन्य क्षेत्रमा जान नसक्ने बैंकरहरू नै बताउँछन् । यद्यपि, व्यापारमा जाने पैसा रोकिएसँगै उक्त रकम अब सेयर बजार, घरजग्गा कर्जाअन्तर्गत लगानी हुन सक्ने सम्भावना पनि देखिन्छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीति मार्फ १९ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राखेपनि वाणिज्य बैंकहरूले ६ महिनामै लक्ष्यको ६० प्रतिशत कर्जा विस्तार गरिसकेका थिए ।

 

अस्वभाविक आयात र अनुत्पादक क्षेत्रमा कर्जा लगानीले तरलता समस्या झनै निम्त्याएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले सबै क्षेत्रमा गरेर कुल ४६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

 

‘आयात कडाइले उपभोग्य कर्जामा निरुत्साहन गर्छ’

 

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा धेरै कर्जा लगानी वस्तुहरूको आयातमै गर्ने गरेका छन् । आयातमुखी अर्थतन्त्र भएकाले कुल कर्जाको झण्डै आधाभन्दा बढी लगानी उपभोग्य वस्तुमै हुने गरेको छ । नेपाल राष्ट्र बैंकका हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८ खर्ब २८ अर्ब उपभोग्य वस्तुमा ऋण लगानी गरेका छन् ।

 

यसैगरी, थोक तथा खुद्रा व्यापारमा ९ खर्ब ५२ अर्ब, सवारी कर्जामा १ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध कर्जा प्रवाह गर्दा एकातिर वित्तीय संस्थाहरू तरलताको दबाबमा छन भने अर्कोतिर उत्पादनमुखी नहुँदा आर्थिक वृद्धि र प्रतिफल हासिल गर्न सकिको छैन ।

 

पूर्व बैंकर अनलराज भट्टराई आयातमा गरिएको कडाइले बैंक तथा वित्तीय संस्थाहरूलाई उपभोग्य र आयातमा कर्जा लगानी गर्न निरुत्साहीत गर्ने बताउँछन् । ‘आयातमा गरिएको कडाइले उपभोग र मूल्य वृद्धिमा असर नपर्ने वस्तुहरूको आयातमा जाने कर्जा कम हुन्छ,’ उनले भने, ‘आयातमुखी अर्थतन्त्र र उपभोग्य वस्तुमा उच्च कर्जा प्रवह हुँदा विदेशी मुद्राको दबाब र तरलताको समस्या देखा पर्ने गरेको छ ।’

 

बाह्य क्षेत्रमा देखिएको वित्तीय सन्तुलनको दबाब कम गर्न उक्त नीतिले राहत पुग्ने उनले बताए । औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थको आयातमा रोक नलगाएका कारण त्यस्ता क्षेत्रहरूमा कर्जा लगानी भने नरोकिने उनको भनाइ छ ।

 

 

६ महिनापछि उद्योग मन्त्रालयले पायो नेतृत्व, मन्त्रीमा दिलेन्द्र बडु नियुक्त Read Previous

६ महिनापछि उद्योग मन्त्रालयले पायो नेतृत्व, मन्त्रीमा दिलेन्द्र बडु नियुक्त

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी Read Next

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी