काठमाडौं । साझा यातायातले नेपाल ल्याउने तयारीमा रहेका ३ वटा बसको ग्रेडिबिलिटी (उकालो तान्न सक्ने क्षमता) टेष्ट गरिएको छ । ती विद्युतीयस बस चीनको नानजिंग सहरको सडकमा उकालो गुडाएर परीक्षण गरिएको हो ।
साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधारले तिब्बत हुँदै बस ल्याउने क्रममा रहेको बताए । उनले चीनबाट बस सिपिङ भइसकेको जानकारी दिए । भन्सारमा केही समय गाडी रोकिने भएकाले १ देखि २ हप्ता भित्रमा बस नेपाल भित्रिने उनले बताए ।
बस ल्याएपछि पनि यातायात विभागबाट अनुमती लिएर मात्र गुडाउनुपर्ने भएकाले कहिलेबाट काठमाडौंका सडकमा विद्युतीय बस चल्ने भन्ने विषयमा उनले बोल्न चाहेनन् ।
‘बस चीनबाट हिँडिसक्यो, तिब्बत हुँदै आउँदैछ, भन्सारमा केही दिन बस रोकिने भएकाले १ हप्ता बढी लाग्न सक्छ नेपाल आइपुग्न,’ तुलाधारले भने ‘आएपछि पनि गुडाउनु अघि यातायात विभागबाट स्वीकृती लिनुपर्ने भएकाले यही दिनबाट गुडाउँछौँ भनेर भन्न मुस्किल छ ।’
चीनको नानजिङस्थित सीएचपीसी कम्पनीले पहिलो चरणमा साझाका ३ वटा बस तयार गरेको हो । ४० वटा विद्युतीय बस निर्माण गर्ने ठेक्का पाएको चिनियाँ कम्पनीले पहिलो चरणमा परीक्षणका लागि नेपाल ल्याउन लागेका ३ वटा बस निर्माण सम्पन्न गरेको हो ।
हाल चिनियाँ कम्पनीले साझाका ४० वटा बस निर्माण गरिरहेको छ । पहिलो चरणमा ल्याउन लागिएको ३ वटा विद्युतीय बस उपत्यकाका सडकमा परीक्षण गरिने छन् । परीक्षण सफल भएपछि बाँकी ३७ वटा विद्युतीय बस ल्याइने छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए । साझा यातायात र चीनको सीएचटीसि कम्पनी बीच गत असोज २२ गते सम्झौता भएको थियो । त्यस लगत्तै चिनियाँ कम्पनीले विद्युतीय बस निर्माण सुरू भएको थियो ।
साढे ८ मिटर लामो २६ सिटे विद्युतीय बस ल्याउन लागिएको हो । साझा यातायातले भ्याटसहित कुल ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । एउटा गाडीको मूल्य भ्याटसहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।
बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको तुलाधारले बताए ।
२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । साझाले पहिलो चरणमा साढे ८ मिटर लामो बस ल्याउने तयारी गरेको छ । त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरू समेत ल्याउने योजना रहेको साझाले जनाएको छ । यी बसहरूमा वाइफाइ, टीभी डिसप्ले, सीसी क्यामेरा लगायतका विशेषता हुनेछन् ।
सरकारले २०७५ पुष ९ गते ३०० वटा विद्युतीय बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले २०७६ सालमा साझा यातायातलाई विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो ।
चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको 'ग्रेडबिलिटी टेस्ट' (उकालो तान्न सक्ने क्षमता) को एक झलक।#electricbus#sajhayatayat pic.twitter.com/9KaibehQfs
— Sajha Yatayat (@SajhaYatayat) April 5, 2022