पेट्रोलियम पदार्थको विक्रीवितरण सहज, पेट्रोल पम्पमा हट्यो लाइन

काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको विक्री वितरण सहज बनेको हो ।

 

निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको विक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम विक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम विक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको विक्रीवितरण रोकेका थिए ।

 

पेट्रोलियम विक्रेताले इन्धनको विक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेको थियो । निगम र व्यवसायीबीच सहमति भएपछि आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए । निगमले आइतबार १ हजार ६०० किलोलिटर पेट्रोल र १ हजार १०० किलोलिटर डिजेल बजारमा पठाएको थियो ।

 

त्यस्तै, सोमबार १ हजार १०० किलोलिटर डिजेल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको विक्रीवितरण सहज भएसँगै पेट्रोलपम्प खाली देखिएका छन् । इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको छ ।

 

निगम र समन्वय समितिबीच पेट्रोलियम विक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो ।

 

कमिशन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो ।

 

निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको विक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि विक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजेल/पेट्रोल र मट्टितेलको विक्रीबाट प्रतिलिटरको मूल्यबाट ३.३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

नयाँ सारथी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नयाँ सारथी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

लयमा फर्किन थाले सिनेमा हल, ५० बढी फिल्म प्रदर्शनको पर्खाइमा Read Next

लयमा फर्किन थाले सिनेमा हल, ५० बढी फिल्म प्रदर्शनको पर्खाइमा