नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा सोमबार वीरगञ्जमा सम्पन्न भएको हो ।

 

साधारण सभाले कम्पनीले आर्थिक् वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ नगद गरी कुल १४.७३६८ प्रतिशत लाभांश पारित गरेको हो ।

 

बोनश सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ पुगेको छ ।

 

अध्यक्ष गोविन्द लाल संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

 

अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

 

कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए ।

 

त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए ।

 

सभाबाट आव २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।

 

त्यस्तै, सभाले संस्थापक सेयरधनीका तर्फबाट ४ जना संचालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्दलाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

ओलीको 'हुटहुटी'मा उद्घाटन गरिएको धरहराको काम सक्न अझै १ वर्ष लाग्ने ! Read Previous

ओलीको 'हुटहुटी'मा उद्घाटन गरिएको धरहराको काम सक्न अझै १ वर्ष लाग्ने !

बलेफी हाइड्रोपावरको आइपीओमा १६ गुणा बढी आवेदन, कतिले भरे ? Read Next

बलेफी हाइड्रोपावरको आइपीओमा १६ गुणा बढी आवेदन, कतिले भरे ?