ओलीको ‘हुटहुटी’मा उद्घाटन गरिएको धरहराको काम सक्न अझै १ वर्ष लाग्ने !

"फेरि म्याद थप्ने तयारी"

काठमाडौं । धरहरा पुनर्निर्माणको काम सकिन अझै १ वर्ष लाग्ने भएको छ । धरहराको अझै २५ प्रतिशत काम बाँकी रहेकाले सम्पन्न गर्न झण्डै १ वर्ष लाग्ने भएको हो ।

 

करिब आधा मात्र निर्माण सम्पन्न भएको अवस्थामा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको हुटहुटी पूरा गर्न गत वैशाख ११ गते धरहराको उद्घाटन गरिएको थियो । उद्घाटन भएको १ वर्ष बित्दासमेत धरहरको पुनर्निर्माण अझै सम्पन्न हुन नसकेको हो ।

 

धरहरा निर्माण आयोजनाका प्रमुख सञ्जय नकर्मीले धरहरा निर्माणका लागि थप १ वर्ष लाग्ने बताए । ‘धरहरा पुनर्निर्माणको काम अझै २५ प्रतिशत हाराहारीमा बाँकी छ । सो सम्पन्न गर्न झण्डै १ वर्ष लाग्ने देखिन्छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

आयोजना अन्तर्गत हालसम्म करिब ७५ प्रतिशत काम सकिएको छ । धरहराको टावर निर्माण भए पनि अन्य संरचना निर्माण, फिनिसिङ, रंगरोगन, विद्युत जडान तथा अन्य प्राविधिक कामहरु अझै बाँकी रहेको छ ।

 

धरहराको टावरसँगै बन्दै गरेको तीन तले भूमिगत पार्किङको काम समेत अझै सकिएको छैन । प्रशासनिक भवन, संग्रहालय, सडक मर्मत लगायतका थुप्रै काम अझै बाँकी नै रहेको आयोजनाले जनाएको छ ।

 

धरहराभित्र बगैंचा बनाउने काम, लाइटिङ, भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्ने जस्ता धेरै काम बाँकी रहेको छ । धरहरा निर्माण भइसकेपनि धरहरा वरिपरी निर्माण गर्न बाँकी रहेको सौन्दर्यकरण तथा मण्डला पोण्ड, वाटर फाउनटेन लगायतका सामग्री निर्माण गर्न बाँकी रहेको हो ।

 

फेरि म्याद थप्नुपर्ने

 

धरहरा पुनर्निर्माणका लागि पटकपटक म्याद थपिए पनि अझै काम पूरा हुन सकेको छैन । अन्तिम पटक थपिएको म्याद यही चैत मसान्तमा सकिने भए पनि काम सम्पन्न नहुने भएपछि फेरि म्याद थप्नुपर्ने भएको छ ।

 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए । तर, कोरोना, कामदार अभाव लगायत कारणले काममा ढिलाइ भएको हो ।

 

ठेक्का सम्झौता अनुसार काम नभएपछि धरहरा पुनर्र्निर्माण पूरा गर्नका लागि २०७८ पुष १० गतेसम्मका लागि म्याद थपिएको थियो । सो पटक पनि काम नसकिएपछि चैत मसान्तसम्म म्याद थपिएको थियो ।

बाँकी काम सक्न १ वर्ष लाग्ने देखिएपछि फेरि म्याद थप्न प्रक्रिया अघि बढाइएको छ । विगतमा पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको धरहरा पुनर्निर्माणको काम हाल शहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ । विभागले म्याद थप्नका लागि मन्त्रालयसमक्ष प्रस्ताव गरेको जनाइएको छ ।

 

धरहरा पुनर्निर्माण पछि सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा लगाइने छ । हालसम्म धरहरा निर्माणका क्रममा २ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ । धरहरा निर्माण आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । धरहरा रमण कन्स्ट्रक्शनले पुनर्निर्माण गरिरहेको छ ।

 

सर्वसाधरणका लागि कहिले खुल्छ ?

 

धरहरा उद्घाटन गरिएको १ वर्ष बिते पनि अझै सर्वसाधरणका लागि खुला गरिएको छैन । उनले पुनर्निर्माण सम्पन्न हुनु अघि नै सार्वसाधरणलाई खुला गर्ने कि भन्ने बारेमा छलफल भइरहेको बताए । ‘धरहरामा सर्वसाधरण चढ्न मिल्छ कि किल्दैन भनेर छलफलगरिरहेका छौं, तर कुनै निर्णय भएको छैन,’ नकर्मीले भने ।

 

यता, सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्मा हालसम्म धरहरामा चढ्नका लागि कुनै प्रकृया अघि नबढाइएको  बताउँछन्बर ।  उनले धरहरा निर्माण सम्पन्न नभएका कारण यस विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको बताए ।

 

उनले उक्त विषयमा काठमाडौं महानगरले आफैं निर्णय अनुसार हस्तान्तरणापछि सञ्चालनको मिति तथा टिकटको मूल्य तोक्ने बताए । ‘अहिलेसम्म धरहरा खुलाउने कुनै कुरा भएको छैन, यो काम महानगरपालिकाको हो, निर्माण पूरा भएपछि उसैले सबै व्यवस्था गर्नेछ,’ शर्माले भने ।

 

भूकम्पअघि ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, संग्राहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । २२ तले धरहराको तीन तल्लासम्म पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७०० मोटरसाइकल अट्नेछन् ।

 

धरहरा पहिलाकै झै चुनढुङ्गाबाट मौलिक संरचनामा नभइ आधुनिक शैलीमा निर्माण हुन लागेको हो । धरहरा बाहिर हेर्दा जुद्ध शमशेरले बनाएको जस्तो देखिए पनि पहिलेको भन्दा निकै भिन्न र आधुनिक हुनेछ ।

भैरहवा विमानस्थलमा निगमले परीक्षण उडान भर्ने, व्यवसायिक उडान गर्न यी ११ एयरलाइन्स इच्छुक Read Previous

भैरहवा विमानस्थलमा निगमले परीक्षण उडान भर्ने, व्यवसायिक उडान गर्न यी ११ एयरलाइन्स इच्छुक

नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित Read Next

नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित