काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)को मागभन्दा झन्डै १६ गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार सोमबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा २२ लाख ६४ हजार ३७८ जनाले २ करोड ६१ लाख ७१ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको १५.७३ गुणा धेरै हो । यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।
कम्पनीले चैत १६ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
निष्काशित कुल सेयरमध्ये ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीहरु, ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र१६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।
कम्पनीले यसअघि पहिलो चरणमा माघ २७ देखि आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख रुपैयाँ ९७ हजार ७०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।