डिजिटल वालेटको प्रयोग बढ्दो, ‘क्यास ब्याक’ नीति लिँदा पनि फाइदामा

काठमाडौं । पछिल्लो समय डिजिटल वालेटहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । शुल्क भुक्तानी र ‘क्यासलेस’ कारोबारले मानिसको दैनिकीमा सहजता ल्याएसँगै वालेटहरुले आफ्नो व्यवसाय पनि आक्रामक रुपमा बढाएका हुन् ।

 

हाल नेपालमा इसेवा, आइएमई पे, खल्ती लगायत दुई दर्जन बढी डिजिटल वालेटहरु संन्चालनमा छन् भने तीन दर्जन बढीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी अनुमती लिएका छन् ।

 

अनलाइन माध्यमबाट घरमै बसेर हवाइ टिकट, बिजुलीको बिल तिर्न, रिचार्ज गर्न तथा एक ठाउँबाट अर्को ठाउँमा सहजै पैसा पठाउन सकिने जस्ता सुविधा भएकाले प्रयोगकर्ताहरु निकै बढेका छन् ।

 

कुनै बेला कागजी ढड्डा र टोकनबाट आर्थिक कारोबार गरेर सुरु भएको बैंकिङ प्रणालीमा अहिले भने डिजिटल वालेटदेखि क्यूआर कोडसम्मको प्रविधि प्रयोग भइरहेका छन् । यसले बैंकमा लाग्ने भिडमात्रै होइन अन्य सेवा प्रदायककोमा लाग्ने भिड हटाएको छ ।

 

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको साथै विभिन्न वालेटहरु मार्फत ग्राहकहरुलाई सेवा दिइरहेका छन् । एक ठाउँबाट अर्को ठाउँ र एक खाताबाट अर्को खातामा तुरुन्तै पैसा भुक्तानी गर्न सकिने भएकाले मानिसहरुको आर्थिक कारोबार यसतर्फ अग्रसर बनेको देखिन्छ ।

 

कोरोना महामारी सुरुभए यता यस प्रकारको अनलाइन कारोबार सेवाग्राहीहरुका लागि झनै अत्यावश्यक बनेको छ । विश्वभर कोरोनाको महामारी फैलिएसंगै संक्रमणको जोखिमले मानिसहरुमा ‘होम डेलिभरी र क्यासलेस’ कारोबारमा आफुलाई सहज महशुस गर्न सक्ने भएका छन् ।

 

पछिल्लो एक दशक यता इन्टरनेटमा आएको व्यापक परिवर्तनले स्मार्ट फोनबाटै टिजिटल माध्यमबाट पैसा कारोबार गर्न सकिने सहज अवस्था बनेको छ । भौतिक रुपमा लाइन बसेर कारोबार गर्न झन्झटीलो, समय र आर्थिकभार बढी हुने भएपनि डिजिटल वालेटले त्यसमा रुपान्त्रण ल्याएको हो । अझ भनौं, यि माध्यमबाट कारोबार गरेवापत न्यून शुल्क लाग्छ भने क्यास ब्याक समेत दिने गरेका छन् ।

 

कारोबार वापत लिने नगन्य शुल्क र क्यास ब्याकको व्यवस्थासहित रकम फिर्ता दिँदा एकातिर वालेटहरुको प्रयोगमा आकर्षण देखिएको छ भने अर्कोतर्फ वालेटहरुले कम शुल्कमा सेवा दिइरहेका छन् ।

 

यसका बावजुत पनि वालेटहरुले आफ्नो व्यवसाय विस्तार गरेको देखिन्छ । नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा बैंकर बिक्रम श्रेष्ठ कोरोना अघिको तुलनामा प्रविधि र वालेटको प्रयोगले निकै फड्को मारेको बताउँछन् ।

 

‘वालेट भनेको बैंकिङ सेवा डिजिटल रुपमा प्रवाह गर्नसक्ने माध्यम हो । कोरोना अघि र पछिको अवस्था हेर्दा प्रविधिमा निकै रुपान्त्रण भएको हामीले पाएका छौँ,’ उनी भन्छन् ।

 

कसरी गरिरहेका छन् वालेटहरुले आम्दानी ?

 

डिजिटल वालेटहरुले मुख्यगरी दूरसंञ्चार कम्पनी, मर्चेन्ट कम्पनी र सेवा दिए वापतको शुल्कबाट आम्दानी गर्ने गरेका छन् ।
वालेटहरुको आम्दानीको स्रोत मुख्यगरी मर्चेन्ट, दूरसंञ्चार प्रदायक र भुक्तानी कारोबार रहेको श्रेष्ठ बताउँछन् ।

 

‘एउटा बैंकबाट वालेटमा र वालेटबाट बैंकमा पैसा ट्रान्सफर गर्दाको केही शुल्क लिने गरिएको छ,’ उनी भन्छन्, ‘अर्को भनेको धेरै जसो मर्चेन्टसँग टाइअप गरेर शुल्क निर्धारण गरेका हुन्छन् र सोही अनुसार वालेटहरुले आम्दानी गर्छन् ।’

 

यसैगरी, टपअप गरेवापत एनसेल र एनटीसी लगायतका दुरसंञ्चार प्रदायक कम्पनीहरुले वालेटहरुलाई पैसा दिन्छन् ।

 

वालेटहरुले अपरेटिङ शुल्क कम गरेर मर्चेन्टसँग पैसा बढी लिनेगरेको उनले बताए । ‘यति टपअप गरेवापत यत्ति शुल्क भनेर एनसेल र एनटिसीले निर्धारण गरेर वालेटहरुलाई दिने गरेका छन्’ उनले भने ।

 

डिजिटल सुरक्षा चुनौति

 

आर्थिक कारोबारका लागि सहज र सुविधा सम्पन्न मानिएपनि डिजिटल सुरक्षा चुनौती भने थपिएको छ ।

 

विशेषगरी अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अपनाउन नसक्दा बेला–बेलामा सिस्टम ह्याक हुनसक्ने जोखिम पनि छ । नेपालका वालेटहरुले विश्वस्तरीय मापदण्ड अपनाउन सके सुरक्षा चुनौतिको टाउको दुखाइ नहुने श्रेष्ठले बताउँछन् ।

 

‘विश्वको सन्दर्भमा एउटा सुरक्षाको मापदण्ड बनाइएको हुन्छ । भुक्तानी कार्ड उद्योग डेटा सुरक्षा मापदण्ड (पीसीआइडीएसएस)ले बनाएको मापदण्ड नेपालका सबै वालेटहरुले फलो गरे डिजिटल सुरक्षा चुनौतीमा चिन्ता गर्नुपर्ने अवस्था रहँदैन्,’ उनले भने ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

१५ प्रतिशतसम्मले गाडी भाडा बढाउने सरकारको निर्णय Read Next

१५ प्रतिशतसम्मले गाडी भाडा बढाउने सरकारको निर्णय