काठमाडौं । पछिल्लो समय डिजिटल वालेटहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । शुल्क भुक्तानी र ‘क्यासलेस’ कारोबारले मानिसको दैनिकीमा सहजता ल्याएसँगै वालेटहरुले आफ्नो व्यवसाय पनि आक्रामक रुपमा बढाएका हुन् ।
हाल नेपालमा इसेवा, आइएमई पे, खल्ती लगायत दुई दर्जन बढी डिजिटल वालेटहरु संन्चालनमा छन् भने तीन दर्जन बढीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी अनुमती लिएका छन् ।
अनलाइन माध्यमबाट घरमै बसेर हवाइ टिकट, बिजुलीको बिल तिर्न, रिचार्ज गर्न तथा एक ठाउँबाट अर्को ठाउँमा सहजै पैसा पठाउन सकिने जस्ता सुविधा भएकाले प्रयोगकर्ताहरु निकै बढेका छन् ।
कुनै बेला कागजी ढड्डा र टोकनबाट आर्थिक कारोबार गरेर सुरु भएको बैंकिङ प्रणालीमा अहिले भने डिजिटल वालेटदेखि क्यूआर कोडसम्मको प्रविधि प्रयोग भइरहेका छन् । यसले बैंकमा लाग्ने भिडमात्रै होइन अन्य सेवा प्रदायककोमा लाग्ने भिड हटाएको छ ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको साथै विभिन्न वालेटहरु मार्फत ग्राहकहरुलाई सेवा दिइरहेका छन् । एक ठाउँबाट अर्को ठाउँ र एक खाताबाट अर्को खातामा तुरुन्तै पैसा भुक्तानी गर्न सकिने भएकाले मानिसहरुको आर्थिक कारोबार यसतर्फ अग्रसर बनेको देखिन्छ ।
कोरोना महामारी सुरुभए यता यस प्रकारको अनलाइन कारोबार सेवाग्राहीहरुका लागि झनै अत्यावश्यक बनेको छ । विश्वभर कोरोनाको महामारी फैलिएसंगै संक्रमणको जोखिमले मानिसहरुमा ‘होम डेलिभरी र क्यासलेस’ कारोबारमा आफुलाई सहज महशुस गर्न सक्ने भएका छन् ।
पछिल्लो एक दशक यता इन्टरनेटमा आएको व्यापक परिवर्तनले स्मार्ट फोनबाटै टिजिटल माध्यमबाट पैसा कारोबार गर्न सकिने सहज अवस्था बनेको छ । भौतिक रुपमा लाइन बसेर कारोबार गर्न झन्झटीलो, समय र आर्थिकभार बढी हुने भएपनि डिजिटल वालेटले त्यसमा रुपान्त्रण ल्याएको हो । अझ भनौं, यि माध्यमबाट कारोबार गरेवापत न्यून शुल्क लाग्छ भने क्यास ब्याक समेत दिने गरेका छन् ।
कारोबार वापत लिने नगन्य शुल्क र क्यास ब्याकको व्यवस्थासहित रकम फिर्ता दिँदा एकातिर वालेटहरुको प्रयोगमा आकर्षण देखिएको छ भने अर्कोतर्फ वालेटहरुले कम शुल्कमा सेवा दिइरहेका छन् ।
यसका बावजुत पनि वालेटहरुले आफ्नो व्यवसाय विस्तार गरेको देखिन्छ । नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा बैंकर बिक्रम श्रेष्ठ कोरोना अघिको तुलनामा प्रविधि र वालेटको प्रयोगले निकै फड्को मारेको बताउँछन् ।
‘वालेट भनेको बैंकिङ सेवा डिजिटल रुपमा प्रवाह गर्नसक्ने माध्यम हो । कोरोना अघि र पछिको अवस्था हेर्दा प्रविधिमा निकै रुपान्त्रण भएको हामीले पाएका छौँ,’ उनी भन्छन् ।
कसरी गरिरहेका छन् वालेटहरुले आम्दानी ?
डिजिटल वालेटहरुले मुख्यगरी दूरसंञ्चार कम्पनी, मर्चेन्ट कम्पनी र सेवा दिए वापतको शुल्कबाट आम्दानी गर्ने गरेका छन् ।
वालेटहरुको आम्दानीको स्रोत मुख्यगरी मर्चेन्ट, दूरसंञ्चार प्रदायक र भुक्तानी कारोबार रहेको श्रेष्ठ बताउँछन् ।
‘एउटा बैंकबाट वालेटमा र वालेटबाट बैंकमा पैसा ट्रान्सफर गर्दाको केही शुल्क लिने गरिएको छ,’ उनी भन्छन्, ‘अर्को भनेको धेरै जसो मर्चेन्टसँग टाइअप गरेर शुल्क निर्धारण गरेका हुन्छन् र सोही अनुसार वालेटहरुले आम्दानी गर्छन् ।’
यसैगरी, टपअप गरेवापत एनसेल र एनटीसी लगायतका दुरसंञ्चार प्रदायक कम्पनीहरुले वालेटहरुलाई पैसा दिन्छन् ।
वालेटहरुले अपरेटिङ शुल्क कम गरेर मर्चेन्टसँग पैसा बढी लिनेगरेको उनले बताए । ‘यति टपअप गरेवापत यत्ति शुल्क भनेर एनसेल र एनटिसीले निर्धारण गरेर वालेटहरुलाई दिने गरेका छन्’ उनले भने ।
डिजिटल सुरक्षा चुनौति
आर्थिक कारोबारका लागि सहज र सुविधा सम्पन्न मानिएपनि डिजिटल सुरक्षा चुनौती भने थपिएको छ ।
विशेषगरी अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अपनाउन नसक्दा बेला–बेलामा सिस्टम ह्याक हुनसक्ने जोखिम पनि छ । नेपालका वालेटहरुले विश्वस्तरीय मापदण्ड अपनाउन सके सुरक्षा चुनौतिको टाउको दुखाइ नहुने श्रेष्ठले बताउँछन् ।
‘विश्वको सन्दर्भमा एउटा सुरक्षाको मापदण्ड बनाइएको हुन्छ । भुक्तानी कार्ड उद्योग डेटा सुरक्षा मापदण्ड (पीसीआइडीएसएस)ले बनाएको मापदण्ड नेपालका सबै वालेटहरुले फलो गरे डिजिटल सुरक्षा चुनौतीमा चिन्ता गर्नुपर्ने अवस्था रहँदैन्,’ उनले भने ।