काठमाडौं । लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।
निष्काशित इकाईमध्ये ४०% अर्थात ८ लाख इकाई सर्वसाधारणका लागि खुल्ला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने ‘एलबीबीबी प्लस’ रेटिङ दिएको छ ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पूँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धेरै जसो वाणिज्य बैंकहरुले लगानी विस्तार गर्न ऋणपत्रलाई माध्यम बनाएका छन् । कतिपयले दोहोर्याएर पनि ऋणपत्र जारी गरिरहेको देखिन्छ ।तर, सर्वसाधारण लगानीकर्ता भने आकर्षित हुन सकेका छैनन् ।