काठमाडौं । विगतका वर्षहरुमा जस्तै यो वर्षमा पनि बजेट खर्चको अवस्था निराशाजनक रहेको छ । सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
विनियोजित बजेट अनुसार सरकारले समानुपातिक रुपमा खर्च गर्ने हो भने प्रतिमहिना कूल बजेटको ८.३३ प्रतिशत अर्थात १ खर्ब २७ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । सो अनुसार सरकारले दुई महिनामा कम्तिमा पनि २ खर्ब ५४अर्ब बजेट खर्च गरिसक्नु पर्दथ्यो ।
तर, अहिले सम्म कूल बजेटको २.९१ प्रतिशत मात्र बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ २९ गतेसम्म सरकारले कूल ४४ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च गरेको छ ।
खर्च भएको कूल बजेटको अधिकांश रकम चालू खर्चमै सकिएको छ । भदौ २९ गतेसम्म भएको कूल खर्चको ८८.८४ प्रतिशत अर्थात ३९ अर्ब ५९ करोड ५३ लाख रुपैयाँ चालू खर्च अन्तर्गत गरेको छ । यो सरकारले बजेटमा निर्धारण गरेको लक्ष्यको ४.१३ प्रतिशत मात्र हो ।
त्यस्तै, पूँजीगत खर्चको अवस्था झन नाजुक रहेको छ । आर्थिक वर्षको दुई महिनाको अवधिमा कूल विनियोजित बजेटको १.०२ प्रतिशत अर्थात ४अर्ब ४० करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालू आर्थिक आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च अन्तर्गत ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।
भदौ २९ गतेसम्म भएको सरकारी आम्दानी तथा खर्चको विवरण :

त्यसैगरी, वित्तीय व्यवस्थापन अन्तर्गत ०.३५ प्रतिशत अर्थात ५९ करोड ५३ लाख रुपैयाँ मात्र खर्च भएको छ । वित्तीय व्यवस्थापनको लागि चालू वर्षमा १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँमा बजेट विनियोजन गरिएको छ ।
असारे विकासमै बजेट सक्ने संकेत
सरकारको अहिले सम्म गरेको खर्चको स्थिति हेर्दा यो वर्ष पनि विगतका वर्षहरुको जस्तै चालू वर्षमा पनि असारे विकासका नाममा बजेट सकिने संकेत देखिएको छ । आर्थिक वर्षको शुरुका महिनामा चुप लागेर बस्ने अनी असारमा चाँही एकै दिनमा रकमान्तर गरेर दशौं अर्ब खर्च गर्ने परिपाटीले नै निरन्तरता पाउने देखिन्छ ।
दुई तिहाईको सरकार भएको अवस्थामा पनि सरकारको बजेट खर्च गर्न शैली भने उही पुरानै रहेको छ । एक त निर्धारित बजेट समयमै खर्च गर्न नसक्ने, भएपनि समयमा भुक्तानी नहुने परम्पराले निरन्तरता पाउने देखिएको छ ।
सरकारले गरेको कूल बजेट खर्चमध्येमा पनि चालू खर्चमा मात्रै ८८.८४ प्रतिशत खर्च हुनुले बजेट खर्च गर्ने शैली विकास खर्चमा भन्दा पनि चालू खर्चमा खर्च गर्न केन्द्रित रहेको देखिन्छ । चालू खर्चअन्तर्गत सरकारी कार्यालय सञ्चालनको खर्च, निर्वाचित, मनोनीत र नियुक्त व्यक्तिहरूको सेवा, सुविधा र तलबभत्ता शीर्षमा खर्च गरिन्छ ।
यसले बजेटजति आर्थिक वर्षको अन्त्यमा असारे विकासको नाममा खर्च गर्ने, बजेटको दुरुपयोग हुने, विभिन्न शीर्षकमा रकमान्तर गरी भ्रष्टाचारलाई प्रश्रय दिने संकेत देखिन्छ ।
राजश्व संकलन भने सन्तोषजनक
चालू आर्थिक वर्षमा बजेट खर्च निराशाजनक देखिए पनि राजश्व संकलन भने सन्तोषजनक नै देखिएको छ । सरकारले चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ३३ अर्ब ५९ करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन निर्धारित लक्ष्यको १२.०१ प्रतिशत हो ।
सरकारले चालू वर्षको दुई महिनामा कर शीर्षक अन्तर्गत १ खर्ब २४ अर्ब ६५ करोड ३७ लाख र गैरकर शीर्षक अन्तर्गत ८ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य राखेकोमा दुई महिनामा १ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन हुनुले सरकारले चालू आर्थिक वर्षमा राजश्वको लक्ष्य भेट्टाउन सक्ने सम्भावना देखिन्छ।