बक्यौता नबुझाउने तीन क्यासिनोको इजाजत रद्द

काठमाडौं । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने ३ क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन ५ दिनको समयसीमा दिएका थिए ।

 

बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण बुधबार पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।

 

उनले भने, “सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ ।”

 

पर्यटन विभागले दिएको जानकारी अनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँको रु ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको रु ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा रु ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नुपर्ने बक्यौता बाँकी छ ।

 

पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्ररअनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ ।

 

आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा रु ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

टेलिकमको अफर : २६५ रुपैयाँमा जुनसुकै नेटवर्कमा ५०० मिनेट कुरा गर्न सकिने Read Previous

टेलिकमको अफर : २६५ रुपैयाँमा जुनसुकै नेटवर्कमा ५०० मिनेट कुरा गर्न सकिने

जनतालाई गिज्याउने 'भ्यूटावर' निर्माणमा १७ अर्ब स्वाह ! Read Next

जनतालाई गिज्याउने 'भ्यूटावर' निर्माणमा १७ अर्ब स्वाह !