काठमाडौं । सरकारी स्वामित्वको दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने आकर्षक प्याकेज ल्याएको छ ।
हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन–नेट भ्वाइस प्याक’ कायम राख्दै तिनमा थप सुविधासहित कम्पनीले सस्तो मूल्यमा विभिन्न प्रकारमा ‘अल–नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।
नयाँ व्यवस्था अनुसार टेलिकमले २६५ रुपैयाँमा जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरी प्रिपेडमा २८ दिनको प्याक ल्याएको छ । यस्तै १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध गराइएको छ ।
कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । जसअनुसार ५९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।
अब ५९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ ।साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था मिलाइएको छ ।
यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । ९९९ रुपैयाँ र १४९९ रुपैयाँमाका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डेटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।
नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । पहिलेदेखि नै उपलब्ध अन्य विभिन्न प्याक यथावत् रहेको कम्पनीले जनाएको छ ।