काठमाडौं । गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।
यसअघि केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरू अब गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने भएको छ ।
२०७८ असार ४ गते केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बीच भएको सेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारी भएको थियो ।
सोही सम्झौताका आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयको यही चैत्र ७ गतेको पत्रबाट साविकको केसीएल अस्ट्यूट क्यापिटलको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरेको हो ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी) सेवा प्रवाह हुँदै आएकोमा अब निकट भविष्यमा नै गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्नेछ ।
गरिमा क्यापिटलले सेयर निष्काशन तथा विक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टे«शन, संस्थागत परामर्श तथा सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरूको व्यवस्थापन सम्बन्धी सेवाहरू प्रदान गर्नेछ ।
गरिमा क्यापिटल लिमिटेडका सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुने व्यवस्था मिलाइनेछ । यस संस्थाले अफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नेछ ।