काठमाडौं । निर्माण व्यवसायीले मूल्य वृद्धि निर्देशिका ल्याउन सरकारसँग बार्गेनिङ गर्न थालेका छन् । निर्माण सामग्रीको मूल्य अस्वभाविक बढेकाले यथास्थितिमै निर्माण कार्य अघि बढाउन नसक्ने भन्दै निर्माण व्यवसायी सरकारसँग बागेर्निङ गर्न थालेका हुन् ।
रुस युक्रेन युद्धका कारण पछिल्लो समय निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । निर्माण सामग्रीको मूल्य बढ्दा यसअघि ठेक्का लिएका आयोजनाहरु निर्माण गर्दा घाटा लाग्ने भन्दै निर्माण व्यवसायीले सरकारलाई मूल्य वृद्धि निर्देशका ल्याउन माग गरेका हुन् ।
तत्काल निर्माण सामग्रीको मूल्य वृद्धि निर्देशका नल्याए ‘कन्स्ट्रक्शन होलिडे’ मनाउने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । सरकारले मूल्य वृद्धि निर्देशिका ल्याए निर्माण कार्य अघि बढाउने नत्र कन्स्ट्रक्शन होलिडे मनाएर बस्ने भन्दै सरकारसँग बार्गेनिङ गरेका हुन् ।
एउटै ठेकेदारले एकैपटक सयौं ठेक्का लिएर वर्षौंसम्म निर्माण पूरा नगर्ने निर्माण व्यवसायी अहिले मूल्य वृद्धिका नाममा फेरि बार्गेनिङ गर्न थालेका हुन् । अपवाद बाहेक अधिकांश ठेकेदारले आफूले जिम्मा लिएको आयोजना ठेक्का सम्झौता अनुसार सम्पन्न गरेको रेकर्ड छैन ।
हालै खरिद नियमावली संशोधन गरेर सरकारले निर्माण व्यवसायीलाई प्रोत्साहन समेत गरेको छ । तर, अहिले बाह्य कारणले निर्माण सामग्रीको मूल्य बढ्दा सरकारलाई निर्देशिका ल्याउन दबाब दिन थालेका व्यवसायी आफूहरुको गैरजिम्मेवार र लापारबाहीले आयोजना अलपत्र पर्दा भने मौन बस्दै आएका छन् ।
‘कि मूल्य बढाउनु पर्यो, नत्र होलिडेको विकल्प छैन’
सरकारले यसअघि निर्माण सामग्रीको मूल्य बढ्दा निर्देशिका ल्याएर व्यवसायीलाई राहत दिएको भन्दै अहिले पनि ल्याउनुपर्ने उनीहरुको माग छ । सरकारले २०६५ मा मूल्य वृद्धि हुँदा निर्देशिका भाग १ बनाएको थियो । अब भाग दुईको रूपमा फेरि मूल्य वृद्धि निर्देशिका निकाल्नु पर्ने समय आएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
उनले सरकारले मूल्य वृद्धि गर्ने अथवा कन्स्ट्रक्शन होलिडे मनाउनेमा एउटा उपाय ननिकाले आन्दोलनमा उत्रने चेतावनी दिए । उनले यस विषय प्रधनमन्त्री शेरबहादुर देउवा, भौतिक मन्त्री, अर्थमन्त्री लगायतका व्यक्तित्वहरुसँग कुराकानी समेत अघि बढाइसकेको बताए ।
महासंघका अध्यक्ष सिंहले निर्माण सामग्रीको मूल्य यसरी नै बढ्दै गए निर्माण व्यवसायीले निर्माण कार्य रोक्नु पर्ने अवस्था आउने बताए । उनले सरकारसँग कुरा गरेर केही समयका लागि भए पनि ‘कन्स्ट्रक्शन होलिडे’ मनाउनु पर्ने बताए ।
‘निर्माण सामग्रीको मूल्य १० प्रतिशत बढेको भए हामी केही भन्ने थिएनौँ, शतप्रतिशत मूल्य वृद्धि भएको अवस्था छ, यसमा हामी घर खेत बेचेर पनि निर्माण गर्न सक्ने अवस्थामा छैनौँ,’ सिंहले भने ‘कि नयाँ मूल्य निर्देशिक बनाऔं, नत्र सरकारले बुझ्नु पर्यो, मूल्य बढाउन नसके कन्स्ट्रक्शन होलिडे मनाउनु पर्यो ।’
पछिल्लो समय डण्डीको मूल्य १३५ रुपैयाँ पुगेको छ । विगतमा यसको मूल्य ६० रुपैयाँ रहेको थियो । डण्डीको मात्र नभई सिमेन्ट, पाता, छड, आइरन ब्लेड, बिटुमीन, ग्याबिन तार तथा नदीजन्य एवं खानीजन्य गिट्टी, बालुवा, ढुंगा र इट्टालगायत सम्पूर्ण निर्माण सामग्रीको मूल्य वृद्धि भएको सिंहले बताए । यसले व्यवसायीहरुका साथै आम उपभोक्तालाई समेत मार परेको उनको भनाइ छ ।
‘व्यवसायीले कन्स्ट्रक्शन होलिडे गर्न पाउँदैनन्, आफ्नो काम गर्नुपर्छ’
व्यवसायीले मूल्य वृद्धि निर्देशका नल्याए कन्स्ट्रक्शन होलिडे मनाउने बताए पनि सरकारले भने व्यवसायीले त्यस्तो काम गर्न नपाउने बताएको छ । भौतिक पूर्वाधार मन्त्रालयले उक्त विषयमा कुरा भइरहेको भए पनि कुनै हालतमा कन्स्ट्रक्सन होलिडे गर्न नपाइने जनाएको छ ।
भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी झालाई व्यवसायीहरुले ध्यानकर्षण गराए पनि मूल्य वृद्धिको विषयमा ठोस निर्णय भइनसकेको मन्त्रालयका एक कर्मचारीले बताए ।
‘निर्माणको काम कुनै हालतमा रोकिनु भएन, कन्स्ट्रक्शन होलिडे भन्ने कुरा हुँदैन, मूल्य वृद्धि विश्वव्यापी हो, यसमा मन्त्री ज्यूको ध्यानाकषर्ण भएको छ, ठोस निणर्य हुन बाँकी छ,’ उनले चाणक्य पोष्टसँग भने ।
२०१९ मा कोभिड १९ सुरु भएदेखि देशमा निर्माणको कामले गति लिन सकेको छैन । कोभिडकै बाहानामा ४० प्रतिशत पनि काम गर्न नसकेका निर्माण व्यवसायीले निर्माण आयोजनामा म्याद थप गर्ने काम मात्र गरेका थिए ।