काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् उपलब्ध गराउन नसकेपछि उद्योगमा अघोषित लोडसेडिङ हुन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धन संकट हुँदा भारतबाट आयात हुने बिजुली महँगिएपछि नेपाली उद्योगले बिजुली पाउन छाडेका हुन् ।
यसअघि नियमित समयमा पाउँदै आएको बिजुलीसमेत कटौती हुन थालेको उद्योगीहरु बताउँछन् । पछिल्लो दुई साता यता उद्योगहरुमा १२ घण्टासम्म बिजुली जान थालेको उनीहरुको भनाइ छ ।
पिकआवरमा नेपालमा २ हजार मेगावाट बढी बिजुली माग हुने गरेको प्राधिकरण जनाएको छ । तर, पिकआवरमा उत्पादन कबिर १२ मेगावाट मात्र रहेको छ भने झन्डै ८०० मेगावाट अपुग छ ।
नेपालमा वर्षा याममा विद्युत् खेर जाने भए पनि हिउँदामा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपाल भारत बीच बिजुली आयात निर्यात गर्ने सम्बन्धी सम्झौता भए मूल्य आकाशिँदा नेपालले भारतबाट महँगोमा बिजुली किन्नु पर्ने बाध्यता सृजना भएको छ । नेपालले अहिले प्रतियुनिट ३८ रुपैयाँसम्म बिजुली किन्नुपरेको छ ।
महँगोमा बिजुली किनेर सस्तोमा दिँदा ठूलो घाटा लाग्ने भन्दै प्राधिकरणले उद्योगहरुलाई बिजुली दिन छाडेको छ । बिजुली नपाउँदा सिमेन्ट, डण्डी लगायत ठूला उद्योगहरु बढी प्रभावित भएका छन् ।
प्राधिकरणले बिजुली दिन छाडेपछि उत्पादन नै प्रभावित भएको उद्योगीहरु बताउँछन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्योगीले पिक आवरमा बिजुली नपाउँदा उद्योग नै बन्द गरेर बस्नुपर्ने अवस्था रहेको बताए ।
‘बिजुलीको भाउ महँगो भयो भन्दै प्राधिकरणले उद्योगलाई बिजुली दिन छाडेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘बिजुली नहुँदा अहिले केही समय उद्योगको उत्पादन ठप्प हुने गरेको छ भने बिजुली आउने समय कुरेर मात्र उद्योग चलाउनु परेको छ ।’ बिजुली नहुँदा उत्पादन प्रभावित हुनुका साथै लागत समेत बढेको उनको भनाइ छ ।
केही महिना अघि बिजुली खेर जाँदा उद्योगहरुलाई बोलाइबोलाइ बिजुली दिने प्राधिकरणले अहिले नियमित रुपमा पाउने बिजुली समेत कटौती गरेको उद्योगीको भनाइ छ ।
‘व्यवसाय नै संकटमा पर्न थाल्यो’
प्राधिकरणले नियमित दिँदै आएको बिजुली समेत नदिँदा व्यवसाय नै संकटमा पर्न थालेको सिमेन्ट उद्योगीहरु बताउँछन् । अहिले झन्डै दैनिक १२ घण्टासम्म बिजुली जाने उद्योगीहरुको भनाइ छ ।
नेपाल उद्योग संघका अध्यक्ष ध्रुवराज थापा प्राधिकरण भारतबाट बिजुली आयात गरेको भने पनि आफूहरुले नपाएको बताउँछन् । नियमित रुपमा बिजुली नपाउँदा उत्पादन आधाले घटेको उनले बताए ।
‘सिमेन्ट उद्योगमा दैनिक १२ घण्टासम्म लोडसेडिङ छ । यस्तो भएपछि उद्योग कसरी संचालन हुन्छ,’ उनले भने, ‘केहीसमय अघि उत्पादन भएको सिमेन्ट नबिक्दा नोक्सनी बेहोरेका सिमेन्ट उद्योग अहिले बिजुली नपाउँदा बन्द गर्नु परेको छ । यसले व्यवसाय नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढाएको छ ।’
माग अनुसार बिजुली पाइएन, केही समय दुःख गर्नुस् : प्राधिकरण
भारतमा बिजुलीको मूल्य वृद्धि भएपछि प्राधिकरणले केही दिनदेखि उद्योगहरुको विद्युत्मा कटौती गरिएको थियो । तर, प्राधिकरणले बिहीबार रातिदेखि फेरि प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात थालेको छ ।
सामान्य समयकोभन्दा झन्डै चार गुणा बढी महँगोमा समेत बिजुली नपाउँदा उद्योगहरुले माग अनुसार बिजुली पाउन नसकको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
‘प्राधिकरणले भारतको इनर्जी मार्केटबाट दैनिक बेसमा साढे ४ सय मेघावाटसम्म बिजुली आयात गर्दै आएको थियो । पछिल्लो समय मूल्यमा ठूलो परिवर्तन भयो । बिहीबारदेखि २० रुपैयाँ भारु अर्थात् नेपाली ३८ रुपैयाँमा बिजुली आयात गर्न थालेका छौंँ,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले महँगोमै किन्छु भन्दा पनि पिक आवरमा बिजुली पाउने अवस्था छैन । ६०० मेगावाट माग गर्दा ४५ मेगावाट मात्र पाएको अवस्था छ । हामीले बाध्यताले बिजुली कटौती गरेका हौं ।’
भारतबाट महँगोमै ल्याएर भए पनि केही समय उद्योगहरुलाई बिजुली दिने प्राधिकरणको योजना भए पनि बिजुली पाउन नसकेको उनले बताए । ‘हामी हाम्रा उद्योग निरन्तर संचालन हुन भन्ने चाहान्छौं, त्यसले गर्दा महंगो विद्युत् ल्याएर पनि उद्योग संचालन गर्ने योजना हो,’ उनले भने,‘तर भारतमै विद्युत् अभाव भएकाले हामीले माग अनुसार बिजुली पाउन सकेका छैनौं । अब एक महिना जति उद्योगीहरुले दुःख गर्नुपर्छ, त्यसपछि आफ्नै उत्पादनले पुग्छ ।’
नेपालले प्रतियुनिट ३८ रुपैयाँ तिरेर भारतबाट विद्युत् आयात गर्दा प्राधिकरणलाई मासिक ८ अर्ब घाटा हुने उनको भनाइ छ ।