नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेमा आज पनि सोही लय कायम राखेको हो । पछिल्ला चार कारोबार दिनमै नेप्से झन्डै १०० अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकम पनि झन्डै आधाले घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ४४ करोडले घटेर साढे २ अर्बमा सीमित भएको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा आइपुगेको छ । यसदिन २३१ कम्पनीको २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँ बराबरको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, निर्जीवन बीमा र जीवन बीमा समूह पनि २ प्रतिशतले घटेको छ ।

 

आज जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अपि पावर ९ करोड र हिमालयन डिस्ट्रीलरी ६ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने इमर्जिङ नेपालका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

उच्च अंकले घटेको बजारमा आज आइसीएफसी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.८२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सानिमा लाइफ ४.५२, ज्योति लाइफ ४.४५, ग्रीन लाइफ हाइड्रपावर ४.३८, प्रुडेन्सियल इन्स्योरेन्स ४.३२, घलेम्दी हाइड्रो र प्रभु लाइफका इन्स्योरेन्सको सेयर मूल्य ४.०६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, सप्तकोशी विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंकको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण तीव्र Read Previous

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण तीव्र

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ,  प्राधिकरण भन्छ-'केही समय दुःख गर्नुस्' Read Next

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ, प्राधिकरण भन्छ-'केही समय दुःख गर्नुस्'