विद्युत प्राधिकरणकाे २५% सेयर जनतालाई दिइने, घरबेटीलाई बिजुलीको व्यापार नगर्न आग्रह

काठमाडौं । विद्युत प्राधिकरणले देशभरका प्रसारण सबस्टेसनलाई स्वचालित गर्ने भएको छ । प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले जानकारी दिए ।

 

घिसिङले मिटर रिडिङका लागि सेवाग्राहीको घरघरमा जानुपर्ने व्यवस्थाको अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागू गरिने बताए ।

 

आज नेपाल विद्युत प्राधिकरणको विगत तीन वर्षको उपलब्धी र भावी कार्ययोजना पेश गर्दै घिसिङले स्मार्ट मिटरको व्यवस्थालाई तीव्र गति दिइने बताएका हुन् ।

 

प्राधिकरणले अब आउँदो समयमा जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुलाई गेम चेन्जर आयोजनाको रुपमा अघि बढाइने बताएका छन् ।

 

विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर जनतालाई दिइने

 

उनले विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल भइरहेको बताए । प्रस्तावित यस विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

 

उनले २०७९ भित्रमा सबै नेपालीको घरमा विद्युत पहुँच पुर्याउन सरकारले हर सम्भव उपाय अपनाउने बताए । साथै वितरण प्रणाली सञ्जालको विस्तार गरिने समेत उनले बताए ।

 

चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरामा ग्रिड पुर्याउने प्राधिकरणको योजना रहेको छ । यस्तै, आगामी १० वर्षमा १० हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने छ ।

चालु आवमा विद्युतीय चुहावटलाई १२ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

 

घरबेटीलाई मनलाग्दी महशूल नअसुल्न आग्रह

 

काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल नअसुल्न उनले आग्रह गरेका छन् ।

 

‘प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् ’ उनले भने ।

 

प्राधिकरणले २० युनिटसम्मको विद्युत्मा ३० रुपैयाँ सेवा शुल्क लिएको छ भने प्रतियुनिट तीन रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले ९० रुपैयाँ महसुल तिर्नुपर्छ ।

 

यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० रुपैयाँ र प्रतियुनिट सात रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा १२० रुपैयाँ महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ रुपैयाँ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

 

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १०० रुपैयाँ र प्रतियुनिट १० रुपैयाँका दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क १२५ रुपैयाँ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क १५० रुपैयाँ प्रतियुनिट १२ रुपैयाँ र त्यसभन्दा माथि सेवा शुल्क १७५ रुपैयाँ र प्रतियुनिट १३ रुपैयाँ का दरले तिर्नुपर्ने व्यवस्था छ ।

 

सो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ ।

 

तर, शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युत्मा अनावश्यक व्यापार नगर्न भनेको हो ।

हवाई यात्रुले भाडामा १० प्रतिशत छुट पाउने Read Previous

हवाई यात्रुले भाडामा १० प्रतिशत छुट पाउने

मेलम्ची काठमाडौं ल्याउने जिम्मा सिनो हाइड्रोलाई, यस्तो छ बाँकी काम Read Next

मेलम्ची काठमाडौं ल्याउने जिम्मा सिनो हाइड्रोलाई, यस्तो छ बाँकी काम