आरटीजीएस प्रणाली लागू , अब चेक नकाटी सिधै एक बैंकबाट अर्कोमा भुक्तानी हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बाट औपचारिक रुपमै रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीको कार्यान्वयनमा ल्याएको छ । यो प्रणाली लागूभएसँगै आजबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी हुने भएको छ ।

 

आज एक कार्याक्रमका बीच गभर्नर डा. चिरञ्जीवी नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले आरटीजीएसको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो ।

 

अब कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ। अब चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकको खातामा भुक्तानी हुने छ। अहिले चेक काटेर क्लियरिङमा पठाउँदा भुक्तानी हुन डेढ दिनसम्म लाग्ने गरेको छ ।

 

राष्ट्र बैंकले भदौ २० गते एक निर्देशन जारी गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आरटिजिएस सिस्टम लागू गर्न निर्देशन दिएको थियो।

 

राष्ट्र बैंकले पहिलो चरणमा ‘क’ वर्गका वाणिज्य बैंकहरुमा यो प्रणाली लागू गरेको हो । २८ वटै वाणिज्य बैंकहरु यो प्रणालीमा आवद्ध भइसकेका छन् । यस प्रणालीबाट कारोबार गर्दा प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्छ ।

 

दोस्रो चरणमा आगामी पुसदेखि ‘ख’ वर्गका विकास बैङ्क र र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमा पनि यो प्रणाली लागू हुने राष्ट्र बैंकद्धारा जारी निर्देशिकामा उल्लेख छ ।

 

राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिबाट आरटिजिएस लागू गर्ने जनाएको थियो। तर प्राविधिक कारण भएकाले लागू गर्न सकेको थिएन।

 

अब २ लाखभन्दा बढीको भूक्तानी गर्न चेक नचाहिने

 

आरटिजिएस सिस्टम लागू भएसँगै अब २ लाख रुपैयाँभन्दा बढीको भूक्तानी गर्न चेक नचाहिने भएको छ। हाललाई २ लाख रुपैयाँ सम्मको कारोबारलाई चेकबाट बारोवार गर्न स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य आरटिजिएस सिस्टम मार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

अहिलेको प्रकृयामा एकाउन्ट पेयी चेकको रकम भुक्तानी भई बाहकको खातामा जम्मा हुन एक दिन लाग्ने गरेको छ भने छिटो चाहिनेले शुल्क तिरेर द्रुत सेवा मार्फत सुविधा लिँदै आएका छन्।

 

आरटिजिएस प्रणाली सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरुले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार गर्नुपर्ने हुन्छ। जसमा राष्ट्र बैंकको निर्देशनअनुसार फाराम भरेर बैंकका प्रस्तुत गरेपछि भुक्तानीकर्ताले आफ्नो खातामा तत्कालै रकम प्राप्त गर्नेछ।

 

आरटिजिएस सिस्टम के हो ?

 

आरटिजिएस सिस्टम कुनैपनि रकम विना जोखिम कारोबारको तुरुन्त फछर्यौट गरिने पूर्ण विद्युतीय प्रणाली हो । जहाँ कुनै संस्था–संयन्त्रले ठूलो तथा सानो मूल्यको भुक्तानी ट्रान्सफर एंव हिसाव मिलान गर्ने गर्दछ । यस संयन्त्रले भुक्तानी दिनेको खाताबाट पैसा घटाएर भुक्तानी पाउनेको खातामा तुरुन्तै रकम जम्मा गरिदिन्छ ।

 

कुनैपनि व्यक्तिको एक बैंकमा रहेको खाताबाट दोस्रो व्यक्तिको अर्को बैंकमा रहेको खातामा तुरुन्तै भुक्तानी गर्न सकिन्छ । जसको लागि खातावाला व्यक्तिले सम्बन्धित बैंकमा गएर मेरो खाताबाट फलानो नाम गरेको व्यक्तिको फलानो बैंक खातामा यति रकम भुक्तानी गरिदिनु भनेर फारम भर्नु पर्दछ । त्यसपछि बैंकले सो व्यक्तिको खाताको पैसा तत्कालै दोस्रो व्यक्तिको बैंक खातामा भुक्तानी गरिदिन्छ।

मन्त्रीहरुको रवैया र जनताको बढ्दो आक्रोश, पाठ कहिले सिक्ने Read Previous

मन्त्रीहरुको रवैया र जनताको बढ्दो आक्रोश, पाठ कहिले सिक्ने

अब १० लाखभन्दा बढीको सेयर खरिद गर्दा लगानीको स्रोत खुलाउनु पर्ने Read Next

अब १० लाखभन्दा बढीको सेयर खरिद गर्दा लगानीको स्रोत खुलाउनु पर्ने