संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौं उड्ने जहाज करिब १ घण्टा ढिलो भएपछि सर्वसाधारण यात्रुहरु मन्त्रीप्रति आक्रोशित भएका छन् । सर्वसाधारणले आक्रोशित हुँदै, ‘कहाँ मोजमस्ती गर्दै हुनुहुन्थ्यो ?,’ ‘कहिले प्रधानमन्त्रीका कारणले त कहिले मन्त्रीका कारणले सधैं जहाज ढिलो भइरहनुपर्ने ?’ जस्ता प्रश्नहरु गरेका छन् ।
मन्त्री भट्टराई लाचार र लज्जित देखिएका छन् । केही महिना अघि यही सरकारका अर्का मन्त्री गोकुल बास्कोटाले पनि जहाज कुराउन प्रयास गरेका थिए । तर, जहाज उनलाई नकुरी निर्धारित समयमै उडेपछि उनले आर्कोशित हुँदै, ‘म मन्त्रीलाई नकुर्ने यो कस्तो जहाज कम्पनी ?,’ भनेर कुर्लेका थिए ।
लोकतान्त्रिक मुलुकमा मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुन्छ । जनता सबैभन्दा शक्तिशाली हुन्छन् । राजनीतिक नेताहरु, मन्त्रीहरु र प्रधानमन्त्रीहरु जनताका ‘सेवक’ मात्र हुन् भने प्रहरी, कर्मचारी, सेना इत्यादी राज्यसत्ताका अंगका प्रतिनिधिहरु जनताको ‘नोकर’ हुन् ।
तर, दूर्भाग्यवश, लोकतान्त्रिक आन्दोलनको यति लामो इतिहास भए पनि नेपालमा माथि उल्लेखित लोकतान्त्रिक मूल्य र मान्याताको संक्रमण हुन सकेको छैन । सामान्य जनता आफूलाई रैति ठान्छन् भने अन्य आफूलाई उनीहरुको मालिक ठान्छन् ।
राजतन्त्र इतिहास हो । पारस र ज्ञानेन्द्र राजनीतिक रुपमा मरेर पनि नेपाली राजनीतिक इतिहासको जमिनमा धेरै तल गाडिइसकेका छन् । तर, मन्त्री भट्टराई जस्तो ‘विकास प्रेमी र उर्जावान्’ ‘युवा’ले नै मरेको मुर्दा खोतलेर र त्यसैको कात्रो ओढेर आफ्नो लोकतान्त्रिक विचलनको लाज ढाक्ने प्रयास गर्नु परिपक्व लोकतन्त्रको लागि शुभ संकेत होइन ।
मन्त्री भट्टराईले जहाज ढिलो गराएर आफूहरुलाई १ घण्टा कुराएपछि आफ्नो समयमा उड्न पाउने अधिकार हनन भएका कारण जागेका जनता नेपाली लोकतन्त्रको सुन्दर तस्वीर हो । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा भएका विभिन्न जागरण र ‘पब्लिक अपराइजिङ’हरुको सुन्दर र जीवन्त तस्वीरहरु यो भन्दा अगाडी पनि उद्घाटन भएका छन् ।
तर, दूर्भाग्यवश त्यस्तो आन्दोलनका बेला नेतृत्वदायी र महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्री भट्टराई अहिले अर्कै किनारामा पुग्नु एउटा धक्का नै हो ।
तर, त्यो भन्दा पनि ठूलो धक्का जहाजमा सर्वसाधारणका बीच लाचार र निरिह देखिएका मन्त्रीले काठमाडौं फर्केपछि सामाजिक सञ्जालमा आफ्नो गल्तीलाई स्वीकार गर्नुभन्दा पनि जहाजमा आफूलाई र्याखर्याख्ती पार्नेहरु सामान्य जन नभएर राजतन्त्र लगायत अन्य राजनीतिक आस्था बोकेका पूर्वाग्रही जत्था हुन् भनेर उम्कन खोज्नु हो ।
राजतन्त्र इतिहास हो । पारस र ज्ञानेन्द्र राजनीतिक रुपमा मरेर पनि नेपाली राजनीतिक इतिहासको जमिनमा धेरै तल गाडिइसकेका छन् । तर, मन्त्री भट्टराई जस्तो ‘विकास प्रेमी र उर्जावान्’ ‘युवा’ले नै मरेको मुर्दा खोतलेर र त्यसैको कात्रो ओढेर आफ्नो लोकतान्त्रिक विचलनको लाज ढाक्ने प्रयास गर्नु परिपक्व लोकतन्त्रको लागि शुभ संकेत होइन ।