राष्ट्र बैंकको कडाइका बाबजूद घर र गाडी कर्जा बढ्दो, रोकेन महँगो ब्याजले

काठमाडौं । बैंकिङ प्रणालीमा चरम तरलता अभाव र चर्को ब्याजदरका बाबजूद अनुत्पादक क्षेत्र मानिने घरजग्गा र सवारी क्षेत्रमा जाने कर्जा लगानी घट्नुको सट्टा बढेको छ ।

 

तरलता अभावले गर्दा बैंकबाट सहजै ऋण पाउनै नसक्ने र पाए पनि महँगगो ब्याज तिर्नुपर्ने अवस्था रहे पनि घरजग्गा र गाडीमा बैंकहरूको कर्जा लगानी भने बढेको हो ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुसको तुलनामा माघमा घरजग्गा र सवारीसाधन किन्न बैंकहरूले झन्डै ४ अर्ब ऋण दिएका छन् । पुससम्म घरजग्गा र सवारी कर्जा गरी कुल ७ खर्ब ११ अर्ब ५५ करोड ऋण लगानी गरेकोमा माघमा ३ खर्ब ९३ अर्बले बढेर ७ खर्ब १५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

 

घरजग्गामा लगानी बढ्नुका साथै अन्य व्यवसाय गर्नको लागि यसप्रकारको सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन सहज हुने भएकाले घरजग्गामा कर्जा बढेको जानकारहरू बताउँछन् ।

 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत अनुत्पादन क्षेत्रमा कर्जा लगानीमा काडाइ गर्ने नीति लिएको थियो । तर, त्यसको विपरीत आर्थिक रुपमा अनुत्पादक क्षेत्र मानिने घरजग्गा र हायरपर्चेज कर्जा बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

 

राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा विस्तारमा अंकुश लगाए पनि बैंक तथा वित्तीय संस्थाहरूबाट यस्ता क्षेत्रमा कर्जा विस्तारको क्रम बढेको हो । यसले घरजग्गा र सवारी साधन खरिदको लागि कर्जा लिनेहरूलाई उच्च ब्याजदर वृद्धि र तरलता अभावको धेरै प्रभाव नपरेको देखिन्छ ।

 

पछिल्ला केही महिना यता घरजग्गा किनबेच बढेसँगै कर्जाको माग पनि बढेको बताइन्छ । बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार घरजग्गा र सवारी साधनमा गरिएको लगानी खराब कर्जामा परिणत हुने जोखीम कम हुन्छ । सोहीे कारण पनि वित्तीय संस्थाहरूले यस क्षेत्रका ऋणीहरूलाई सहज रुपमा ऋण उपलब्ध गराउने गरेका छन् ।

 

‘राष्ट्र बैंकको कडाइको प्रभाव देखिन केही समय कुर्नुपर्छ’

 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अनुत्पादक क्षेत्रको कर्जा लगानी काडाइमा राष्ट्र बैंकले लिएको नीतिको प्रभाव हेर्न केही समय कुनुपर्ने बताउँछन् ।

 

‘राष्ट्र बैंकको नीतिको तथ्यांकमा तत्काल प्रतिक्रिया देखिने भनेको अन्तर बैंकदर हो । ३५ दिनसम्म रिर्पोटिङ गर्ने समय नै दिएको हुन्छ,’ उनले भने, ‘मौद्रीक नीतिको समीक्षाभन्दा अघि लिएका नीतिहरूको प्रभावकारीता देखिन थालेको छ । घरजग्गामा कर्जा लगानी कडाइ नीतिको नतिजा एकदुई महिनामा देखिन्छ ।’

 

बैंकहरूको कर्जा जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले नीति लिने उनको भनाइ छ ।

 

१ महिनामा घरजग्गामा थप ३ अर्ब कर्जा लगानी

 

चालु वर्षको पुससम्म घरजग्गा (रियल इस्टेट र व्यक्तिगत आवासीय कर्जागरी)मा कुल ५ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा गरेका बैंक तथा वित्तीय संस्थाहरूको माघ मसान्तसम्म आइपुग्दा ३ अर्बले बढेर ५ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको ६ महिना (साउन–पुस)सम्म व्यक्तिगत आवासीय कर्जातर्फ कुल ३ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ कर्जा दिएका छन् । माघमा उक्त कर्जा विस्तारको रकम २ अर्ब ७४ करोडले बढेर कुल ३ खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो ।

 

त्यसैगरी, रियल इस्टेट क्षेत्रमा पुस महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल २ खर्ब १० अर्ब २९ करोड रुपैयाँ कर्जा दिएका छन् । माघ मसान्तसम्म आइपुग्दा सो रकम १ अर्बले बढेर २ खर्ब ११ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

 

गाडी किन्न दिए झन्डै १ अर्ब ऋण

 

राष्ट्र बैंकले गाडी आयातमा कडाइ गरेपनि सवारी कर्जाको माग भने बढ्दो छ । विदेशी मुद्रा संञ्चिति घटेको भन्दै सवारी आयातका लागि ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

 

आयात घटाउन र यस्ता क्षेत्रमा कर्जा प्रवाह कम गर्नको लागि गरिएको राष्ट्र बैंकको उक्त व्यवस्था विपरीत पुसको तुलनामा माघमा सवारी कर्जा करिब ९१ करोड रुपैयाँले बढेको हो ।

 

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म १ खर्ब ६८ अर्ब ५५ करोड रुपैयाँ सवारी कर्जा अन्तर्गत लगानी गरेका बैंक तथा वित्तीय संसथाहरूले माघ मसान्तसम्म आइपुग्दा १ खर्ब ६९ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी पुर्याएका छन् ।

 

दुवाकोटको जग्गा पास गर्दिन्छु भनी झुक्याएर ४५ लाख ठगी Read Previous

दुवाकोटको जग्गा पास गर्दिन्छु भनी झुक्याएर ४५ लाख ठगी

श्रीलंकामा पेट्रोलको चरम हाहाकार, लाइनमा उभिँदाउभिँदै २ जनाको मृत्यु Read Next

श्रीलंकामा पेट्रोलको चरम हाहाकार, लाइनमा उभिँदाउभिँदै २ जनाको मृत्यु