काठमाडौं । जग्गा वैना गरी ४५ लाख रुपैयाँ तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ ।
काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजिनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको पाइएको हो।
भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गाप्रति आना २१ लाखका दरले मूल्य तय गरी विभिन्न बैंकको चेकबाट पटकपटक गरी ४५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएपछि महिलाले आफू ठगीमा परेको थाहा पाएको प्रहरीले जनाएको छ ।
रकम ठगी गर्ने कार्यमा संलग्न अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-४ बस्ने ललितपुर महानगरपालिका-३ का ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबार मार्गबाट पक्राउ गरी अनुसन्धान थालेको हो । उनलाई आवश्यक कारबाहीका लागि आइतबारमहानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।