काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।
नेप्सले गत माघ ८ गतेदेखि फागुन २३ गतेसम्म वर्गीकरणका लागि सूचीकृत कम्पनीहरुसँग विवरण माग गरेको थियो । कम्पनीहरुबाट प्राप्त विवरणका आधारमा कम्पनीहरुको वर्गीकरण गरेको हो ।
नेप्सेले वर्गीकरणमा समावेश गरेका २२९ कम्पनीमध्ये ३६ वटा कम्पनी ‘ए’, ९ वटा ‘बी’, ३६ वटा ‘सी’ र १४८ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।
नेप्सेका अनुसार ‘ए’ समूहमा २५ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादनमूलक कम्पनी रहेका छन् ।
समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकहरु परेका छन् । हाल संचालनमा रहेका कुल २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एसिया बाहेक सबै बैंक समूह ‘ए’ मा परेका छन् ।
त्यस्तै, विकास बैंकहरुबाट ४ वटा कामना, मुक्तिनाथ, सांग्रिला र साइन रेसुङ्गा विकास बैंक समूह ‘ए’ मा परेका छन् ।
त्यसैगरी, फाइनान्सबाट आईसीएफसी र मञ्जुश्री, माइक्रोफानान्सबाट आरएमडीसी, जलविद्युतबाट अपी, अरुणभ्याली र बुटवल पावर तथा उत्पादनबाट शिवम् सिमेन्ट समूह ‘ए’ मा सूचीकृत भएका छन् ।
