बेँसीसहर-चामे सडक थप १० दिन बन्द हुने

मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ ।

 

कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

 

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे–बेँसीसहर– चामे सडक योजना कार्यालयले जनाएको छ ।

 

सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ ।

 

यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो ।रासस

धमाधम विमानस्थल स्तरोन्नति गर्दै प्राधिकरण, ३ वटाको  काम सम्पन्न, आधादर्जन अन्तिम चरणमा Read Previous

धमाधम विमानस्थल स्तरोन्नति गर्दै प्राधिकरण, ३ वटाको काम सम्पन्न, आधादर्जन अन्तिम चरणमा

यी हुन् नेप्सेको वर्गीकरणमा समूह 'ए' मा परेका ३६ कम्पनी Read Next

यी हुन् नेप्सेको वर्गीकरणमा समूह 'ए' मा परेका ३६ कम्पनी