काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साना आन्तरिक विमानस्थलहरू स्तरोन्नति तथा निर्माणलाई तीव्रता दिएको छ । कोभिड १९ का कारण झण्डै २ वर्ष गति लिन नसकेको उक्त आयोजनाहरूले पछिल्लो समय गति लिन थालेको हो ।
सरकारले देशभरका विमानस्थल निर्माणका लागि ५ वर्षे ‘मास्टर प्लान’ गुरु योजना बनाएर अघि बढेको हो । जस अन्तर्गत देशभरका ३१ विमानस्थहरू स्तरोन्नति र आधुनिकीकरण गर्न लागिएको हो ।
ठूला आन्तरिक अन्तर्गत चन्द्रागढी, भरतपुर, विराटनगर, राजविराज, महेन्द्रनगर, नेपालगञ्ज तथा धनगढी विमानस्थलको गुरु योजना बनाइएको छ । साना २१ विमानस्थलहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने ३ विमानस्थलमा निर्माण सम्पन्न गरी सञ्चालनमा समेत ल्याइएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सिनिय सिभिल इन्जिनियर मुरारी भण्डारीका अनुसार राजविराज विमानस्थल र नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको काम सकिसकेको छ । उनले ती विमानस्थलहरूमा रनवे विस्तार र ओभरलेको काम सम्पन्न भइसकेको बताए ।
‘राजविराज र नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको काम सकिसकेको छ, अन्य निर्माणको अन्तिम चरणमा छन्, ती पनि छिट्टै सम्पन्न हुनेछन्,’ भण्डारीले भने ।
नेपालगञ्ज विमानस्थलको रनवे विस्तारको काम सम्पन्न भएको छ । यस्तै इलामको सुकिलुम्बा विमानस्थलको निर्माण पूरा नियमति उडान भइरहेको उनले जानकारी दिए । यस्तै सुर्खेत विमानस्थलमा समेत ओभरलेको काम सम्पन्न भइसकेको छ ।
आधादर्जन विमानस्थल निर्माणको अन्तिम चरणमा
यस्तै, प्राधिकरणका अनुसार झन्डै आधा दर्जन विमानस्थल स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । रारा, बैतडी, साँफेबगर, वलेवा, गुल्मी र कालिकोट गरी ६ विमास्थलमा नयाँ टर्मिनल भवन निर्माणको काम भइरहेको छ ।
सिमिकोट विमानस्थलमा नयाँ एप्रोन निर्माणको काम अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । हुम्लाको सिमिकोट विमानस्थलमै धावनमार्ग, ट्याक्सीवे, ऐप्रोन ओभरले एंव फेन्सिङ कार्य धावनमार्गको ओभरले एवम् मार्किङ्ग कार्य सम्पन्न भइ फेन्सिङ कार्य जारी छ ।
सिम्मीकोट विमानस्थलमा टर्मिन भवन निर्माणको काम भइरहेको छ । धावनमार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलमा ३ डिएचसी–६ जस्ता विमानहरू पार्क गर्न सक्ने गरी पार्किङ स्थल निर्माण गरिने भएको छ । यसका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।
त्यस्तै, राराको मुगु विमानस्थलमा एप्रोन तथा धावनमार्गको काम भइरहेको छ । माइक्रो पिलिङको काम सम्पन्न भइसकेको यस विमानस्थलमा टर्मिनल टावर भवन निर्माण कार्यको ड्याम्प प्रुफ कोर्स (डीपीसी) गर्ने काम सम्पन्न भई टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गरिँदै छ । यसमा हाल बन्ने भौतिक निर्माणका लागि १४ करोड लागत अनुमान गरिएको छ ।
त्यसैगरी, अछामको साँफेबगर विमानस्थलमा टावर, टर्मिनल भवन निर्माण कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको प्राधिकरणले जनाएको छ । साँफेबगर विमानस्थलमा चेनलिंक फेन्सिङ्ग निर्माण कार्यको पोल फिटिङ र नेट लेइङको काम हुँदै छ ।
गुल्मीको रेसुंगा विमानस्थलमा ओभरलेको काम सम्पन्न भएको छ । गुल्मीको रेसुंगा विमानस्थलमा टर्मिनल भवन र कर्मचारी आवास गृह निर्माण कार्यसम्मको काम सकिएको छ ।
बलेवा विमानस्थल कालोपत्र सम्पन्न भएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको छ । विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको हो ।यस्तै महेन्द्रनगर विमानस्थलमा पनि निर्माण कार्य भइरहेको छ । यस विमानस्थलमा रनवे, ट्याक्सी वे तथा एप्रोन निर्माण कार्य भइरहेको छ ।