काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।
नेप्सले गत माघ ८ गतेदेखि फागुन २३ गतेसम्म वर्गीकरणका लागि सूचीकृत कम्पनीहरुसँग विवरण माग गरेको थियो । कम्पनीहरुबाट प्राप्त विवरणका आधारमा कम्पनीहरुको वर्गीकरण गरेको हो ।
नेप्सेले वर्गीकरणमा समावेश गरेका २२९ कम्पनीमध्ये ३६ वटा कम्पनी ‘ए’, ९ वटा ‘बी’, ३६ वटा ‘सी’ र १४८ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।
नेप्सेका अनुसार ‘ए’ समूहमा २५ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादनमूलक कम्पनी रहेका छन् ।
त्यसैगरी, समूह ‘बी’ मा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ लगानी कम्पनी गरी ९ कम्पनी परेका छन् ।
त्यस्तै, समूह ‘जी’ मा ८ वटा लघुवित्त संस्था, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, १४ वटा जलविद्युत कम्पनी, ४ वटा लगानी कम्पनी र एउटा होटेल तथा पर्यटन समूहका कम्पनी परेका छन् ।
त्यस्तै, समूह ‘जेड’मा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स कम्पनी, ४० वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा जलविद्युत कम्पनी, ४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादनमूलक कम्पनी, ४ वटा होटेल तथा पर्यटन समूहका ४ वटा कम्पनी र अन्य समूहका २ वटा कम्पनी रहेका छन् ।
नेपाल धितोपत्र बोर्डको नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गीकरण गरेको हो । ए वर्गमा परेका कम्पनीलाई तुलनात्मक रुपमा उत्कृष्ट कम्पनी मानिन्छ भने जेड समूहमा परेकालाई खराब कम्पनी मानिन्छ ।
नेप्सेले कम्पनीको चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिङ्ग, नियम परिपालना लगायतको आधारमा कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।
अधिकांश कम्पनी खराब कम्पनीको सूचीमा
सार्वजनिक वर्गीकरण अनुसार अधिकांश कम्पनी खराब कम्पनीको समूहमा परेका छन् । सूचीकृत २२९ मध्ये तुलनात्मक रुपमा नराम्रा कम्पनीको समूह मानिएको ‘जेड’ समूहमा १४८ कम्पनी परेका छन् । यो कुल संख्याको ६५ प्रतिशत हो ।
कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेका हुन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् । बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।
कस्ता कम्पनी कुन वर्गमा पछन् ?
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएका, सूचीकरण भएको तीन वर्ष पुगेमा, तीन वर्षदेखि लगातार नाफामा रहेको र लाभांश बाँडेको भएमा समूह ‘ए’ मा पर्न सक्छन् ।
त्यस्तै, क्रेडिट रेटिङ कम्पनीबाट आधारभूत पक्ष औसतभन्दा माथिको रेटिङ पाएका, समयमै साधारणसभा गरेका र तोकेको ढाँचामा वित्तीय विवरण प्रकाशित गरेमा पनि समूह ‘ए’ मा पर्न सक्छन् ।
यस्तै, चुक्ता पूँजी ५० करोड, सूचीकरण भएको ३ वर्ष पुगेमा, लगातार दुई वर्ष नाफामा भए, आधारभूत पक्ष औसतभन्दा एक स्तरसम्म तल भएका, समयमै साधारणसभा गरेका र सञ्चित नोक्सानी नभएका कम्पनीहरू पनि समूह ‘बी’ मा पर्छन् ।
सूचीकरण भएको दुई वर्ष नपुगेका कम्पनीहरू ‘जी’ समूहमा पर्छन् भने ए, बी र जी समूहमा नपर्ने कम्पनी स्वतः जेड समूहमा पर्छन् ।
कुन कम्पनी कुन समूहमा ?