काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप तथा वेबसाइटहरु बन्द गर्न निर्देशन दिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै अनलाइनबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका साइट तथा एप माथि रोक लगाउन निर्देशन दिएको हो।
त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डीसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणले निर्देशन दिइएको हो।
अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १ गतेको पत्रमार्फत त्यस्ता साइट तथा एपलाई निषेध गर्न प्राधिकरणलाई अनुरोध गरेको थियो ।
उक्त पत्रमा भनिएको छ, ‘अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेएबल तथा कानलो सूचीमा राख्ने व्यवस्था गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’
