नबिल बैंकले पायो बंगलादेश बैंकलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी)लाई गाभ्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । नबिललाई राष्ट्र बैंकले आइतबार सैद्धान्तिक सहमति दिएको हो ।

 

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । राष्ट्र बैंकको सहमतिसँगै अब दुई बैंक बीचको प्राप्ति प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

 

एनबी बैंकलाई प्राप्ति गरेपछि नबिल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । त्यसैगरी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।

 

हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्वीजिसन पश्चात् हाल सहमत गरिएको ४३ प्रतिशत स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्बको हुनेछ ।

 

पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्ब भन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पूँजी ४४ अर्बभन्दा बढी हुनेछ ।

 

यसैगरी चालु आवको ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड र एनबी बैंकले ८१ करोड कमाएका छन् ।

 

एनबीलाई प्राप्तिपछि नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।

आइपीओ ल्याउन लागेको अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा Read Previous

आइपीओ ल्याउन लागेको अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा

पप्पुले अलपत्र पारेको तीनकुने आर्कब्रिज निर्माणका लागि ६ कम्पनी छनोट Read Next

पप्पुले अलपत्र पारेको तीनकुने आर्कब्रिज निर्माणका लागि ६ कम्पनी छनोट