पप्पुले अलपत्र पारेको तीनकुने आर्कब्रिज निर्माणका लागि ६ कम्पनी छनोट

काठमाडौंको बिजुलीबजारस्थि धोवीखोलामा निर्मित आर्क ब्रिज ।

काठमाडौं । पप्पु कन्सट्रक्सनले अलपत्र छाडेको तीनकुने आर्क ब्रिज निर्माणका लागि ६ वटा कम्पनी प्राविधिक छनोट भएका छन् ।

 

उपत्यका सडक विस्तार आयोजनाले प्राविधिक मूल्यांकनबाट ६ कम्पनी आर्थिक मूल्यांकनका लागि छनोट गरेको हो । उक्त पुल निर्माणका लागि ८ कम्पनीले आवेदन दिएका थिए ।

 

प्राविधिक मूल्यांकनबाट लुम्बिनी कोटेक जाय जेभी, सपना निर्माण सेवा, लामा जेजीएसएचसी जेभी, वाइपी किँरातेश्वर जेभी, हिमसगरमाथा र हिमढुङ्गा ठोक्कर गोल्डेन गुण्ड जेभी छानोट भएका छन् । सो कम्पनीमध्ये मृत र सन्जिवनी कन्सट्रक्सन प्रालि प्राविधिक मूल्यांकनबाट बाहिरिएका छन् ।

 

प्राविधिक मूल्यांकनबाट छनोट भएका कम्पनीहरुको अब आर्थिक मूल्यांकन गरी सबैभन्दा कम कबोल्ने कम्पनीलाई पुल निर्माणको ठेक्का दिइने आयोजनाले जनाएको छ ।

 

ठेक्का पाउने कम्पनीले पुलको डिजाइन समेत आफैं गर्नुपर्ने छ । आर्थिक प्रस्ताव चैत ७ गते खोलिने आयोजनाले जनाएको छ । आर्थिक मूल्यांकनबाट छनोट हुने कम्पनीले साढे २ वर्षभित्र निर्माण पूरा गर्नुपर्नेछ ।

 

आवेदन दिएको मूल्यांकनका लागि छनोट भएको वाइपी किँरातेश्वर जेभीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजस्व छलीको मुद्दा परेको खुलेपछि मूल्यांकन प्रकृयामा ढिलाइ भएको थियो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सो कम्पनीलाई समेत समाबेस गरी ठेक्का प्रकृया अघि बढाउन निर्देशन आएपछि ठेक्का मूल्यांकनको काम पुन अघि बढेको हो ।

 

निर्माण व्यवसायीको लापरबाहीले ७ वर्षदेखि अलपत्र

 

निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ७ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको हो ।

 

पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।

 

पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।

 

आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरु गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो ।

 

२१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।

नबिल बैंकले पायो बंगलादेश बैंकलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति Read Previous

नबिल बैंकले पायो बंगलादेश बैंकलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति

विकास खर्च : व्यवस्था फेरे पनि अवस्था उही Read Next

विकास खर्च : व्यवस्था फेरे पनि अवस्था उही