नेपालकै पहिलो महिला ट्याक्सी चालक भन्छिन्- ‘१० वर्ष भयो, अहिलेसम्म कारबाहीमा परेको छैन’

काठमाडौं । नेपालमा ड्राइभिङ पेशा आफैमा चुनौतीपूर्ण पेशाका रूपमा लिइन्छ । सडकको भौगोलिक अवस्था, समाजको बुझाइ, हेर्ने नजर लगायत कारणले पनि ड्राइभिङ पेशा चुनौतीपूर्ण मानिन्छ । अत्यावश्यक सेवा भित्र पर्ने भए पनि यो पेशा मानिसको रोजाइको नभएर बाध्यताको रूपमा अगालिने पेशामा लिइन्छ ।

 

अहिले पनि व्यक्तिगत (निजी) बाहेक सार्वजनिक सवारीसाधन चलाउने अधिकांश चालकहरु रहरले नभई रोजीरोटीका लागि बाध्यताले गाडी चलाउनु परेको बताउँछन् ।

 

समाजमा अहिले पनि ड्राइभिङ पेशा पुरुषले गर्ने पेशाका रुपमा चिनिन्छ । अझै पनि सार्वजनिक यातायातमा झन्डै ९९ प्रतिशत चालक पुरुष नै रहेका छन् । महिला चालक नगन्य मात्रमा रहेका छन् । यद्यपि, पछिल्लो समय भने महिला चालकको संख्या पनि बढ्दो क्रममा छ ।

 

यस्तै, रहरले नभई आफ्नो र परिवारको पेट पाल्न ड्राइभिङ पेशा रोजेकी महिला हुन् स्याङ्जाकी ३९ वर्षीय ईश्वरी थापा । उनी नेपालकै पहिलो महिला ट्याक्सी चालकको नामले समेत चिनिन्छिन् । उनले ट्याक्सी चलाउन थालेको एकदशक बितिसकेको छ ।

१३ वर्ष अघि कुनै लक्ष्यबिनै काठमाडौं आएकी ईश्वरी सुरूमै ट्याक्सी ड्राइभर भएकी भने होइनन् । उनले सुरूमा आफ्नो दैनिक गुजारा गर्नकै लागि टेलर खोलिन् । टेलरले नचलेपछि उनले मासु पसल खोलिन । त्यसबाट पनि व्यवसायिक लाभ पाउन नसकेपछि उनी पेशा बदल्दै ट्याक्सी चलाउन थालिन् ।

 

‘मान्छेले सोचे जस्तो सफलता हात नपरेपछि काम बदल्नु भन्छन्, मेरो जीवनमा पनि त्यस्तै भयो । टेलर र मासु पसलमा सोचे जस्तो भएन, त्यसपछि ट्याक्सी चलाउन सुरू गरेँ,’ उनी भन्छिन् । उनले सोबेला बैंकबाट ९ लाख ऋणमा ट्याक्सी झिकेकी थिइन् ।

 

त्योबेला समाजले महिलाले पनि सार्वजनिक सवारी चलाउन सक्छन् भन्ने विश्वास नगरे पनि आफू त्यो गर्न सक्षम भएको उनी बताउँछिन् । ‘नेपाली समाजमा केटा मान्छेले गर्ने काम केटीले गर्दा खिसिटिउरी गर्ने चलन अझै छ । आजभन्दा १० वर्षअघि झन् कस्तो थियो होला आफैं सोच्नुस्,’ उनी भन्छिन्, ‘ट्याक्सी चलाउने काम सहज पक्कै छैन । चुनौती र समस्याबाट भाग्ने होइन । आफ्नो मेहनत ,लगाब र संघर्षले मान्छेलाई निखार्दै लैजान्छ । संघर्ष गरे अवश्य सफल भइन्छ ।’

 

१० वर्ष ट्याक्सी चलाउन सुरू गर्नेबेला भन्दा अहिले समाजको सोचाइ र हेर्न नजर समेत फेरिएको उनको अनुभव छ । ‘काम सुरू गर्दाको समयभन्दा अहिले पेसा गर्न सहज भएको छ तर केटाले गर्ने काम गरेको भन्ने पनि उत्तिकै छन् , मेरो पेसालाई स्यालोट गर्ने पनि उत्तिकै छन्, कामको तारिफ गर्दा खुसी लाग्छ , साँच्चै मैले ठूलो काम गरेको भन्ने लाग्छ,’ उनले भनिन् ।

सामान्य लेखपढ मात्र गर्न सक्ने थापा इमानदारपूर्वक काम गर्न सके सफलता हात पार्न सकिने बताउँछिन् । कुनै पनि काम सानोठूलो नहुने बरु मान्छेको सोच भने सानो रहेको उनको भनाइ छ । ‘कुनै पनि काम सानोठूलो हुँदैन, सानो त हाम्रो सोचाइ हुन्छ , आफ्नो काम इमानदार भएर गर्नुपर्छ,’ उनी भन्छिन् ।

 

यात्रुको रोजाइमा जान्छु

 

ट्याक्सी सार्वजनिक यातायात हो । सरकारले गुड्ने दूरी (मिटरका) आधारमा भाडादर तोकिदिएको छ । अहिले पनि अधिकांश ट्याक्सी चालक मिटरमा चल्न मान्दैन्न । तर ईश्वरी मिटरमा जाँदा घाटा लाग्ने भए पनि आफू यात्रुको रोजाइमा मिटरमा पनि जाने गरको बताउँछिन् ।

 

‘अहिले पनि धेरै ट्याक्सी चालक मिटरमा जान मान्दैनन् भन्ने सुन्छु । बार्गेनिङ धेरै हुन्छ । केही हद सत्य पनि होला । तर म चाहिँ यात्रुले जे भन्छन् सोही गर्छु । चालक भएपछि आफूले चाहेकोभन्दा पनि यात्रुले चाहे अनुसार गर्नुपर्छ, यात्रुको चाहानलाई ध्यान दिँदै मिटर र अफ मिटर दुवैमा जान्छु,’ उनी भन्छिन्

 

उनले ९ लाख रुपैयाँ ऋणग गरेर ट्याक्सी निकालेकी हुन् । उनले बिहान ६ देखि ४ बजेसम्म आफैँ ट्याक्सी चलाउँछिन भने रात्रीकालीन समय अरूलाई भाडामा दिने गरेकी छिन् । ट्याक्सीबाट हुने कमाइले किस्ता र घरपरिवार चलाउने गरेकी छिन् ।

 

उपत्यका बाहिर जाँदा आम्दानी धेरै

 

सामान्यतः ट्याक्सीको भाडा तुलनात्मक रुपमा सार्वजनिक बस, माइक्रोबसकोभन्दा धेरै हुन्छ । महङ्गो हुँदाहुँदै ट्याक्सी चढ्न् पर्ने धेरैको बाध्यता पनि हुन्छ । मानिसहरु प्रायःजसो छोटो दूरीमा आवत आवतजावतका लागि ट्याक्सी चढ्ने गर्छन् । छोटो दूरीमाभन्दा लामो दूरीम ट्याक्सीको यात्रा गर्ने कमै भेटिने उनको पनि अनुभव छ ।

तर, तुलनात्मक रुपमा भने लामो दूरी (उपत्यका बाहिर)को ट्रिप जाँदा फाइदा हुने उनी बताउँछिन् । काठमाडौं उपत्यका भित्र दैनिक २ हजार ५०० रुपैयाँसम्म कमाइ हुन्छ । काठमाडौं बाहिर जाँदा मिटरमाभन्दा प्राय आपसी समझदारीमा गइन्छ । त्यस्तोबेला अलि बढी फाइदा हुन्छ,’ उनी भन्छिन् ।

 

ट्याक्सी चलाउँदै समाज सेवा

 

पहिलो महिला ट्याक्सी चालक थापा आफ्नो पेसासँगै समाज सेवामा पनि उत्तिकै सक्रिय छिन् । कुनै संघसंस्थाको सहयोग विनै उनले विगत १० वर्षदेखि ४ जना बेसहारा बच्चाहरुको पालनपोषण गर्दै आएकी छिन् ।

 

‘मैले कमाएर आफूसहित अरुलाई पनि बचाउने गरेको छु । आफ्नो एउटा र अरु ४ जना अभिभावकविहीन छोराछोरीको हेरचाह गर्दै आएको छु, काठमाडौंको महङ्गी यही हो, एक जनाको कमाईले खर्च धान्न गाह्रो पर्ने रहेछ,’ थापा भन्छिन् । उनले विगत १० वर्षदेखि पाल्दै आएका ४ जनामध्ये २ भाइ छोरा अहिले आफ्नो खुट्टामा उभिन सक्ने भएर उनीबाट छुट्टै बस्न थालेका छन् भने बाँकी २ जना उनकै संरक्षणमै छन् ।

 

अहिलेसम्म ट्राफिक काबाहीमा परेको छैन

 

इमानदारपूर्वक आफ्नो काम गर्न सके कहिल्यै सजायको भागिदार हुन नपर्ने उनी बताउँछिन् । ट्याक्सी चलाउन सुरु गरेको १० वर्ष बिते पनि उनी अहिलेसम्म ट्राफिक कारबाहीमा परेकी छैनन् ।

‘मैले ट्याक्सी चलाउन थालेको १० वर्ष बित्यो । अनुशासित र नियमपूर्वक चलाएको छु । अहिलेसम्म एकपटक पनि ट्राफिक कारबाहीम परेको छैन । आफू इमानदार भए कसले किन कारबाही गर्ने ?,’ उनी भन्छिन् ।

 

आफू सकुन्जेल यही पेशा गर्ने थापा बताउँछिन् । ‘१० वर्षदेखि ट्याक्सी चदाउँदै आएको छु । सफलता र सम्मान पनि मिलेकै छ । अब सकुन्जेल यही कर्म गर्छु । अरू पेशा गर्दिन,’ उनी भन्छिन् ।

 

ट्याक्सीले दिलाएको खुसी

 

इमानदारपूर्वक आफ्नो काम गरे सबैले सफलता हात पार्न सक्छ । तर ईश्वरीको सफलतामा विभिन्न समयमा पहिलो ट्याक्सी चालकको रूपमा पाएको सम्मानले झन खुशी थपिएको छ । ‘ट्याक्सीकै कारण म धेरै पटक सम्मानीत भएको छु, सम्मानले काम गर्न थप हौसल्ला मिल्छ,’ उनी भन्छिन्  ।

थापालाई हालसम्म नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, र जोन्टा क्लब अफ काठमाडौंले नेपालको पहिलो महिला टयाक्सी चाललको रूपमा सम्मान गरिसकेको छ । यस्ता सम्मानले हौसल्ला सहित जिम्मेवार बढाउने उनको भनाइ छ ।

 

‘ट्याक्सी चलाउनु मेरो पेशा हो । यो पेशा गर्दा पनि सम्मानित भइन्छ भन्ने लाग्दैन्थ्यो । तर, मैले यही बीचमा धेरै सम्मान पाएँ । यसले मलाई धेरै खुसी दिएको छ,’ उनी भन्छिन् । विगतमा महिला चालक नै नदेखेको बताउने उनी अहिले धेरै दिदीबहिनी सवारीसाधन चालकको रूपमा अघि बढेको देख्दा आफूलाई खुसी लाग्ने गरेको उनी बताउँछिन् ।

 

अझै पनि आर्थिक रूपमा सम्पन्न नभए समाजमा हेप्ने प्रवृत्ति रहेको बताउने उनी आफू सक्षम भए कसैले हेप्न नसक्ने बताउँछिन् । ‘हाम्रो समाजमा महिला दिदीबहिनीहरु पछि परेका छौं, जबसम्म आर्थिक रूपमा सक्षम भइँदैन, तबसम्म हेपाइ सहनु पर्छ, त्यसकारण काम सानोठूलो नभनी मेहनतका साथ गर्नुपर्छ ।’

 

 

 

यी हुन् नेप्से १०१ अंकले बढ्दा पनि मूल्य घट्ने ४ कम्पनी Read Previous

यी हुन् नेप्से १०१ अंकले बढ्दा पनि मूल्य घट्ने ४ कम्पनी

साल्ट ट्रेडिङले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश Read Next

साल्ट ट्रेडिङले घोषणा गर्‍यो १० वर्ष यताकै कम लाभांश