काठमाडौं । स्टील उद्योगमा साढे ८ अर्ब रुपैयाँ लगानी थपिने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फट स्वदेशमै बिलेट उत्पादन गर्न फलामे छड उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएसँगै यस क्षेत्रमा धमाधम लगानी थपिन थालेको हो ।
स्टील उद्योगमा हाल संचालनमा रहेका र केही नयाँ उद्योगले ८ अर्ब ४० करोड लगानी गर्ने भएका हुन् । सरकारले प्रतिस्थापन विधेयक मार्फत स्पन्ज आइरनमा शून्य भन्सार दर लागू गरेपछि यही बिलेट उत्पादन गर्न उद्योगीले क्षमता विस्तार गर्न लागेका हुन् ।
उद्योग विभागका अनुसार ५ वटा उद्योगले स्टीलमा ८ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । जसमा नयाँ उद्योगले सर्वा ३ अर्ब र पुराना उद्योगले सवा ५ अर्ब रुपैयाँ लगानी थप्ने भएका हुन् ।
नेपालमै बिलेट उत्पादन गर्ने गरी सर्वोत्तम स्टील्स नामक नयाँ उद्योग खुल्ने भएको छ । मधेश प्रदेशको पर्सामा ३ अर्ब २७ करोड लगानीमा उक्त उद्योग संचालनमा आउने भएको हो ।
यस्तै, हाल संचालनमा रहेका काठमाडौं स्वस्तिक रोलिङ मिल्स, प्रिमियर स्टील, हुलास वायरले स्पन्ज आइरन आयात गरेर बिलेट उत्पादन गर्नको लागि लगानी थप्ने अनुमती लिएको विभागले जनाएको छ । विभागका अनुसार स्वस्तिक रोलिङ स्पन्ज आइरनले आफ्नो उत्पादन बढाउन १ अर्ब ९३ करोड लगानी थप्ने भएको छ ।
त्यसैगरी, काठमाडौं स्टील्स्ले १ अर्ब ३९ करोड, प्रिमियर स्टीलले १ अर्ब १४ करोड रुपैयाँ र हुलास वायरले ६७ करोड लगानी थप्ने भएको हो ।स्पन्ज आइरनमा आधारित रहेर बिलेट उत्पादन गर्न लगानी र क्षमता विस्तारका लागि अनुमति लिने क्रम बढेको विभागको भनाइ छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा देशभर ३१ वटा फलामे छड तथा स्टील उद्योगहरू संचालनमा आएका छन् । यी मध्ये ६ वटा उद्योगले मात्र स्पन्ज आइरन उत्पादन गर्दै आएका छन् ।
हाल संचालनमा रहेका उद्योगको वार्षिक कुल क्षमता ३६ लाख टन रहेको छ भने वार्षिक माग १२ लाख टन रहेको छ । यस आधारमा नेपालमा स्टील उद्योग पूर्ण रुपमा आत्मनिर्भर रहेको देखिन्छ । यद्यपि, कच्चा पदार्थ भने भारत लगायत तेस्रो मुलुकबाटै आयात गर्नुपर्ने बाध्यता छ ।
बिलेट आयात गरी छड तथा अन्य निर्माण सामग्री स्वदेशमै उत्पादन गर्ने भए पनि सरकारले पछिल्लो समय स्वदेशमै बिलेट उत्पादन गर्न स्पन्ज आइरनको भन्सार दरलाई शून्यमा झारेपछि नेपाली उद्योगहरु नेपालमै बिलेट उत्पादन गर्नतर्फ आकर्षित हुन थालेका छन् । हाल संचालनमा रहेकामध्ये ६ वटा उद्योगलेमात्र बिलेट उत्पादन गर्दै आएका छन् ।
धौबादी फलाम खानी सञ्चालनमा आए स्वदेशमै कच्चा पदार्थ
धौबादी फलाम खानी सञ्चालनमा आए स्वदेशमै कच्चा पदार्थ पर्याप्त हुने पनि देखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नवलपरासीको धौबादीमा रहेको फलाम खानी उत्खन्नको लागि परिक्षण गरिएको थियो ।
तर, हालसम्म उक्त फलाम खानी संचालनमा आउन सकेको छैन । २०७५ फागुनमा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार उक्त स्थानबाट १० करोड टन फलाम निकाल्न सकिने बताइएको छ ।
खानी विभागले चीनको छन्तुस्थित साउथ वेस्ट मेटालर्जिकल सेन्टरमा धौबादीबाट संकलित चट्टानको परीक्षण गराउँदा उक्त खानीम स्पन्ज आइरन राम्रो भएको बताएको थियो ।