बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै

मनाङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्ररुपमा भइरहेको छ ।

 

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ ।

 

जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेको हो । गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी काठेपुल बगाएको थियो ।

 

उक्त काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।

 

सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा विद्युतीकरणका लागि चामे दानाक्यु क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्नाका साथै तिमाङ खोलाको झरनामा भइरहेको कल्र्भट निर्माणको निरीक्षण गरिएको उनले जानकारी दिए ।

 

कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा र समन्वय तथा नियमित रिपोर्टिङ गर्नेसमेतको प्रबन्ध मिलाएको बताइएको थियो । रासस

स्टील उद्योगमा साढे ८ अर्ब लगानी थपिँदै, बिलेट उत्पादन गर्ने उद्योग खुल्दै Read Previous

स्टील उद्योगमा साढे ८ अर्ब लगानी थपिँदै, बिलेट उत्पादन गर्ने उद्योग खुल्दै

यी हुन् प्रतिलिटर १० रुपैयाँभन्दा कममा पेट्रोल पाइने देशहरू Read Next

यी हुन् प्रतिलिटर १० रुपैयाँभन्दा कममा पेट्रोल पाइने देशहरू