यी हुन् प्रतिलिटर १० रुपैयाँभन्दा कममा पेट्रोल पाइने देशहरू

काठमाडौँ । पछिल्लो दुई साता यता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर तेलको भाउमा ह्वात्तै बढेको हो ।

 

दुई मुलुक बीच युद्ध सुरु हुनु अघि प्रतिब्यारेल ८५ डलर रहेको कच्चा तेलको मूल्य बढेर सोमबार १३९ डलरसम्म पुगेको थियो । यो पछिल्लो डेढ दशककै यताकै उच्च हो । यद्यपि, बिहीबार एकैदिन तेलको भाउ १७ प्रतिशतले घटेर ११० डलरमा आएको छ ।

 

विश्वको तेस्रो तेल निर्याता देश रुसमाथि अमेरिका र पश्चिमी मुलुकहरुले आर्थिक नाकाबन्दी र तेल आयातमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ आकाशिएको थियो । रुसी तेलमा पश्चिमा देशले प्रतिबन्ध लगाएसँगै रुसले प्रतिब्यारेल मूल्य ३०० डलरसम्म पुग्ने सक्ने चेतावनी दिएको थियो । जसले विश्व बजारमा तेलको भाउ अझै बढ्ने अनुमान गरिएको छ ।

 

रुसले विश्वमा कुल मागको ८ प्रतिशत तेलको आपूर्ति गर्ने भएकाले उसले गर्ने निर्णयले विश्वभरी नै तेलको मूल्य उच्च बढ्ने आकलन गरिएको छ ।

 

पेट्रोलियम पदार्थको मूल्य बढ्दा विश्वभर महँगी बढ्दो क्रममा छ । ढुवानी लागत बढ्दा कच्चा पदार्थदेखि अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ । जसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पारिरहेको छ ।

 

पेट्रोलियम पदार्थ अत्यावश्यक उपभोग्य वस्तु हो । यसको उत्पादन नहुने देशले अन्यदेशबाट आयात गर्दै आएका छन् । विश्वभर इन्धनको मूल्य फरक फरक रहेको छ । उत्पादन लागत, ढुवानी, प्रशोधन खर्चका आधारमा यसको मूल्य ठाउँ अनुसार फरक हुने गरेको छ ।

 

पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशहरुमा इन्धनको मूल्य तुलनात्मक रुपमा सस्तो रहेको छ भने उत्पादन नहुने नेपाल जस्ता मुलुकमा उच्च रहेको छ । तेस्रो मुलुकसँग किनएको तेलमा पनि सरकारले उच्च कर लगाउने हुनाले नेपालमा पनि तुलनात्मक रुपमा इन्धनको मूल्य उच्च छ ।

 

ठूलो मात्रामा उत्पादन गर्ने खाडी मुलुकहरु, रसिया लगायत देशमा तुलनात्मक रुपमा पेट्रोलियम पदार्थ सस्तो रहेको छ भने नेपाल, युरोपेली लगायत मुलुकमा महँगो रहेको छ ।

 

यी हुन् प्रतिलिटर १० रुपैयाँभन्दा कममा पेट्रोल पाइने देश

 

आजका दिन विश्व बजारमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १.२९ (१५७.३८ रुपैयाँ)अमेरिकी डलर प्रतिलिटर छ । ग्लोबल पेट्रोल प्राइस डटकमका अुसार विश्वमा पेट्रोलको मूल्य सबैभन्दा कम प्रतिलिटर ३.०६ रुपैयाँ र सबैभन्दा महँगो हंङकङमा प्रतिलिटर २.८३ डलर अर्थात् ३४५.२६ रुपैयाँ रहेको छ ।

 

आजका दिनमा विश्वमा ३ वटा देशमा पेट्रोलको भाउ प्रतिलिटर १० रुपैयाँ भन्दा कम रहेको छ । विश्वमा पेट्रोलको मूल्य सबैभन्दा सस्तो भेनेजुलयामा छ । त्यय देशमा प्रतिलिटर पेट्रोलको मूल्य ०.०२५ डलर अर्थात् ३.०६१ रुपैयाँ रहेको छ । भेनेजुयला विश्वको १२ औं ठूलो तल उत्पादक देश हो ।

 

त्यसैगरी, लिबियामा पनि पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँभन्दा कम रहेका छ । विश्वको ३० औं ठूलो तेल उत्पादक लिबियामा शुक्रबार पेट्रोलको मूल्य प्रतिलिटर ०.०३२ डलर अर्थात् ३.९१ रुपैयाँ रहेको छ ।

 

त्यस्तै, विश्वमा प्रतिलिटर १० रुपैयाँभन्दा कममा पेट्रोल पाइने देश हो इरान । विश्वको सातौं ठूलो तेल उत्पादक इरानमा पेट्रोलको मूल्य प्रतिलिटर ०.०५१ डलर अर्थात् ६.२४ रुपैयाँ रहेको छ ।

 

यो पनि पढ्नुहोस् : विश्व बजारमा पेट्रोलको मूल्य  : प्रतिलिटर ३ रुपैयाँदेखि ३४५ सम्म, कुन देशमा कति ?

बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै Read Previous

बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै

जाल्पा लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

जाल्पा लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?