काठमाडौं । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य फेरि बढाएको छ । दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको भन्दै संघले ४ दिन नबित्दै फेरि मूल्य बढाएको हो ।
संघले यसअघि फागुन २३ गतेदेखि लागू हुने गरी जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर २९० रुपैयाँ तोकेको थियो । आज (शुक्रबार) फेरि प्रतिकिलो १० रुपैयाँ बढाएर किलोको ३०० रुपैयाँ पुर्याइएको संघका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए ।
‘आजदेखि जिउँदो ब्रोइलर कुखुराको मूल्य थप १० रुपैयाँ बढेको छ, योसँगै ब्रोइलर कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ४२० रुपैयाँ कायम भएको छ,’ बीसीले चाणक्य पोष्टसँग भने ।
कुखुराको मासुको मूल्य वृद्धि भएसँगै आबाट किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पाउने छन् ।पछिल्लो समय कुखुरामा बर्डफ्लूल संक्रमण समेत बढ्दै गएकाले कुखुरा उत्पादनमा केही कमी आएको संघले जनाएको छ । बजारको माग अनुसार उत्पादन कम भएको कारण मूल्य बढेको उनले बताए ।
नेपालभर दैनिक ८ लाख किलो मासु र उपत्यकामा दैनिक ५ लाख किलो मासुको माग रहेको छ । मागको ६० प्रतिशत मात्र उत्पादन भएको बीसीले बताए । ‘ हाम्रो उत्पादन नै कम छ, मागको करिब ६० प्रतिशत मात्र उत्पादन छ,’ उनले भने ।
पछिल्लो १ महिनाको अवधिमै जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो ६० रुपैयाँ बढेको छ । माघ २३ गते प्रतिकिलो २४० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य त्यस यता लगातार बढ्दै आएको छ ।
संघले फागुन ६ गते मूल्य बढाएर प्रतिकिलो २६० रुपैयाँ, फागुन १४ गते मूल्य २७० रुपैयाँ, फागुन १८ गते २८०, फागुन २३ गते २९० रुपैयाँ र आज ३०० रुपैयाँ पुर्याएको हो ।