एडभेन्चर टुरिजम डेस्टिनेशन बन्दै चन्द्रागिरि, संचालनमा आयो ‘कपल स्वीङ’

काठमाडौं । चन्द्रागिरि पछिल्लो समय काठमाडौंको लोकप्रिय ‘टुरिजम डेस्टिनेशन’ बनेको छ । केही वर्ष अघि पर्यटकीय गन्तव्यको रूपमा विकसित भएको चन्द्रागिरि अहिले काठमाडौं उपत्यका वरिपरीका गन्तव्यमध्ये सबैभन्दा पहिलो रोजाइमा पर्ने गरेको छ ।

 

हिउँ परे चन्द्रागिरि । केबलकार चढ्न, जिपलाइन चढ्न चन्द्रागिरि, हाइकिङ जान चन्द्रागिरि । धर्मकर्म गर्न चन्द्रागिरि । बालबच्चा घुमाउनदेखि ‘रिफ्रेस’ हुन चन्द्रागिरि ।

 

पछिल्लो समय बच्चादेखि बुढाबुढीसम्म सबैको रोजाइको पर्यटकीय गन्तव्य बनेको छ चन्द्रागिरि । काठमाडौं उपत्यकामा बस्नेदेखि छिमेकी जिल्लाहरूका मानिसदेखि विदेशी पर्यटक समेत यहाँ घुम्न आउने गरेका छन् ।

 

समुद्री सतहदेखि २ हजार ५५१ मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडाबाट रमणीय हिम श्रृंखला, हरियाली जंगल र काठमाडौं उपत्यकाका साथै मकवानपुरको दृश्यावलोकन गर्न पाइन्छ । चन्द्रागिरिबाट २ दर्जनबढी हिमश्रृंखला देख्न सकिन्छ ।

 

एक दशक अघिसम्म हाइकिङ जाने बाहेक साखै रोजाइमा नपर्ने चन्द्रगिरि अहिले सबैको रोजाइमा पर्ने पर्यटकीय गन्तव्य बनेको छ ।चन्द्रागिरिलाई रोजाइको गन्तव्य बनाउने काम गरेको हो चन्द्रागिरि हिल्स प्रालिले ।

चन्द्रागिरि हिल्सले चन्द्रागिरि डाँडामा बनाएको पर्यटकीय पूर्वाधार र त्यहाँसम्म पुग्ने केबलकारले यस ठाउँमा सबैको ध्यान तानेको हो । केबलकार चढ्न गोरखाको मनकामना नै पुग्नुपर्ने बाध्यता हटाउँदै कम्पनीले २०७३ देखि केबलकार संचालनमा ल्याएसँगै यहाँ जाने आन्तरिक पर्यटक बढेका हुन् ।

 

काठमाडौंको अधिकांश ठाउँबाट सहजै सार्वजनिक यातायात लाग्ने र थानकोटबाट सरर केबलकार चढेर चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ । केबलकारको बटम स्टेशन थानकोटदेखि टप स्टेशन चन्द्रागिरि डाँडामा करिब १० मिनेटमा पुगिन्छ ।

 

नयाँ प्रोडक्ट ‘कपल स्वीङ’

 

चन्द्रागिरि हिल्सले हाल चन्द्रागिरिमा केबलकार, रिसोर्ट, फनपार्क, भ्यू टावर, जीपलाइन, भालेश्वर मन्दिर लगायत पूवार्धार बनाइ संचालन गरिरहेको छ । केबलकारबाट व्यवसाय सुरु गरेको कम्पनीले अहिले उक्त गन्तव्यलाई एडभेञ्चर टुरिजम प्रोडक्ट थप्दै लगेको छ ।

 

कोरोनाकालमै जीपलाइन संचालनमा ल्याएको कम्पनीले हालै कपल स्वीङ संचालनमा ल्याएको छ । कम्पनीले महाशिव रात्रिदेखि कपल स्वीङ संचालनमा ल्याएको चन्द्रागिरि हिल्सका अप्रेशन म्यानेजर दुर्गा थापाले जानकारी दिए ।

 

नेपालका धेरै ठाउँमा सिंगल स्वीङ संचालनमा रहे पनि चन्द्रागिरिले सम्भवत पहिलोपटक कपल स्वीङ संचालनमा ल्याएको थापाको दाबी छ । थापाका अनुसार उक्त स्वीङ १८ वर्षभन्दा माथिकाले मात्र खेल्न पाउँछन् ।

 

४० फिट अग्लो कपल स्वीङमा एकपटमा दुई जनाले खेल्न सक्छन् । उक्त स्वीङ खेल्नका लागि एक जनाको ४०० रुपैयाँ र जोडीको ८०० रुपैयाँ शुल्क तोकिएको कम्प्नीले जनाएको छ । ग्राहकमा मुटुरोग, हाडजोर्नी, प्रेसर लगायत स्वास्थ्य समस्या छ/छैन भन्ने सोधेर मात्रै टिकट दिइने थापाले बताए ।

 

स्वीङमा बस्नु अघि कम्पनीका कर्मचरीले सेफ्टी बेल्ट र हेल्मेट लगाइ दिन्छन् । स्वीङलाई ३५ मिटरसम्म माथि लगेर छाडिने रहेछ । खेल्ने मान्छेको इच्छा अनुसार कति माथि पुर्याउने भनेर सोधेर सोही अनुसार छोडिन्छ ।

 

ग्राहकले ३ मिनेटदेखि ४ मिनेटसम्म स्वीङ गर्न पाउँछन् । स्वीङ गर्ने मान्छेले ‘डर लाग्यो’ भन्यो भने १/२ पटकमै पनि रोकिदिने गरेको थापा बताउँछन् ।

 

गोप्रोबाटा भिडियो खिच्ने व्यवस्था गरिने

 

उनले कपल स्वीङको डेकोरेशनको केही काम अझै नसकिएको बताए । उनका अनुसार यसलाई अझै आकर्षक बनाउन गोप्रोबाटा भिडियो पनि खिच्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।

 

स्वीङमा माथिबाट तल छोड्दा अलिकति झट्का दिने भएकाले आतिएर क्यामेरा छोड्न सक्ने सम्भावना भएकाले अध्ययन भइरहेको उनले बताए ।

 

एडभेन्चरको डेस्टिनेशन बनाउने योजना

 

उनले एडभेन्चरका लागि मानिसहरू ठाउँ खोज्दै भौँतारिने भएकाले उपत्यकामै एडभेन्चरको राम्रो डेस्टिनेशको रूपमा चन्द्रागिरि हिल्सलाई अघि बढाउने योजना रहेको बताए ।

 

सोही, क्रममा एडभेन्चरका जिपलाइन, रक क्लाइम्बिङ, कपल स्वीङ जस्ता प्रोडक्ट क्रमशः थपिँदै लगिएको उनले बताए । चाँडै नै अन्य नयाँ एडभेन्चर थप्दै लैजाने गरी योजना बनिरहेको थापाले बताए । कस्ता नयाँ एडभेन्चर प्रोडक्ट थपिने भने बारे उनले खुलाएनन् ।

 

१४९९ रुपैयाँमा कम्बो प्याकेज

 

चन्द्रागिरि हिल्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै कम्बो प्याकेज समेत ल्याएको छ । यस प्याकेज अनुसार १ हजार ४९९ रुपैयाँमा केबलकारको दुईतर्फी टिकट, जिपलाइन र टप स्टेशनमा लञ्च (सेटअप मेनु) उपलब्ध गराइने थापाले बताए ।

 

यो प्याकेज नेपाली नागरिहहरूका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न अवसरमा आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

हाल चन्द्रगिरिमा दैनिक १ हजारदेखि १ हजार ५०० हाराहारीमा आन्तरिक तथा बाहिय पर्यटक आउने गरेको थापाले बताए । अन्य समयमाभन्दा शनिबार र विदाका दिन यहाँ मानिसको घुइँचो लाग्ने गर्छ ।

 

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक रुपले भरिपूर्ण चन्द्रागिरि कोभिडपछि फेरि ब्यूँझिन थालेको हो । विशोषगरी शनिबार मानिसहरू भालेश्वर महादेवको दर्शन गर्न जाने गरेका छन् ।

 

चन्द्रागिरिबाट २ दर्जनबढी हिमश्रृंखला देख्न सकिन्छ । यहाँबाटसर्वोच्च शिखर सगरमाथा, गौरीशंखर, लाङटाङ, अन्नपूर्ण लगायतका हिमाल देख्न सकिन्छ । यस्तै सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि चन्द्रागिरि निकै उपयुक्त गन्तव्य हो ।

-तस्वीर : सरोज तिमलसिना

 

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र सम्पन्न, नियमित उडान कहिलेदेखि ? Read Next

६० वर्षपछि बलेवा विमानस्थलको कालोपत्र सम्पन्न, नियमित उडान कहिलेदेखि ?