काठमाडौं । पोखरा थण्डर्सले राष्ट्रिय टिमका विंगर सुजल श्रेष्ठलाई मार्की प्लेयरमा अनुबन्ध गरेको छ । नेपाल सुपर लिगका लागि पोखराले सुजललाई मार्की प्लेयरमा अनुबन्ध गरेको हो ।
पहिलो संस्करणमा पोखराले सुजललाई अक्सनबाट भित्र्याए पनि चोटका कारण उनले एनएसएल खेल्न पाएका थिएनन् । यद्यपि, उनी पोखराको व्यवस्थापकको भूमिकामा थिए । अघिल्लो सिजन नवयुग श्रेष्ठ पोखराको मार्की प्लेयर थिए ।
नेपालका लागि सुजलले ४७ क्याप खेलेका छन् भने तीन गोल गरेका छन् । उनी नेपालले सन् २०१८ को दक्षिण एसियाली खेलकुदमा पहिलो स्थान हासिल गर्दा टोलीमा सहभागी थिए । त्यस्तै, सुजलको कप्तानीमा गत साता मछिन्द्र एफसीले गत ए डिभिजन लिगको उपाधि जितेको थियो ।
यस्तै पोखराले नविन न्यौपानेलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा चैत २६ देखि नेपाल सुपर लिग हुँदैछ ।