काठमाडौं । बैंकबाट ऋण नपाउँदा घर निर्माण गरिरहेकाहरु प्रभावित बनेका छन् । तरलता अभावका कारण बैंकहरुले स्वीकृत गरेको कर्जा रकम समेत उपलब्ध गराउन नसक्दा घर निर्माण गरिरहेका व्यक्तिहरु मर्कामा परेका हुन् ।
चालु वर्षको सुरुआतदेखि नै बैंकिङ प्रणालीमा भएको चरम तरलता अभाव अझै समाधान हुन सकेको छैन । जसकारण बैंक तथा वित्तीय संस्थाहरुले माग अनुसार कर्जा प्रवाह गर्न सकेका छैन् । कतिपय अवस्थामा स्वीकृत भएको कर्जाको रकम समेत उपलब्ध गराउन सकेका छैनन् ।
विगतमा बैंकमा पैसा थुप्रिँदा आकर्षक स्कीम ल्याएर घर कर्जा दिने गरेका बैंकहरु अहिले स्वीकृत भएको ऋण समेत दिन नसक्ने अवस्थामा पुगेका छन् । जसले कतिपय घर निर्माण नै रोकिने अवस्था सृजना भएको छ ।
बैंकिङ क्षेत्रमा भएको चरम तरलता अभावको सोझो असर घर निर्माणमा पनि देखिएको छ । यसबाट बैंकबाट ऋण लिएर घर बनाइ रहेकाहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।
बैंकले स्वीकृत भएको ऋण नदिँदा आफ्नो घर निर्माणको काम नै रोकिएको बताउँछन् काठमाडौं रानीवनका लक्षमण खनाल । उनले ग्लोबल आइएमई बैंकबाट ३० लाख ऋण स्वीकृत गराए पनि आधा मात्र पाएको र आधा रकम नपाउँदा निर्माण रोक्नु पर्ने अवस्था आएको बताए ।
‘पहिलोपटक १५ लाख ल्याएर घर निर्माण सुरू गरेँ । बाँकी ऋण लिन तीन् चार पटक बैंक धाई सकेँ । तर, ऋण पाउन सकेको छैन,’ उनी भन्छन्, ‘बैंकले हुन्छ हुन्छ भन्छ तर चाहिएको बेला पैसा दिँदैन् । आफूसँग भएको समेत सकिसक्यो । निर्माण सामग्री किन्न र ठेकेदारलाई दिन समस्या भएको छ । अब पनि बैंकले पैसा नदिए निर्माण कार्य नै रोकिन्छ ।’ बैंकले भनेको ब्याज तिर्दा पनि ऋण पाउन समस्या भएको उनको भनाइ छ ।
खनाल त एक प्रतिनिधि पात्र हुन् । उनीजस्ता हजारौं जना अहिले बैंकबाट स्वीकृत भएको कर्जा नपाउँदा समयमै घर निर्माण हुन नसक्ने अवस्थामा पुगेका छन् । काठमाडौंसहित देशको सहरी क्षेत्रमा घर निर्माण गर्नेहरुमध्ये अधिकांशले बैंक तथा वित्तीय क्षेत्रबाट ऋण लिने गरेका छन् । बैंकबाट ऋण नपाउने अवस्था हुँदा निर्माणाधीन अवस्थामा रहेका घर निर्माण सम्पन्न हुन ढिलाइ हुने र लागत समेत बढ्ने देखिन्छ ।
झन् बैंकबाट ऋण लिएर घर बनाउने योजनामा रहेकाहरुले त तत्काल ऋण पाउने सम्भावना नै देखिँदैन । एकीन तथ्यांक नभए पनि अहिले बैंकबाट ऋण नपाउँदा हजारौं घर निर्माण सुस्त भएको बताइन्छ । कतिपय त निर्माण नै रोकिएको निर्माण व्यवसायी बताउँछन् ।
बैंकहरुले निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याइए पनि बैंकमा पैसा आउन नसक्दा कर्जा लगानीमा समस्या परेको बैंकरहरु बताउँछन् । स्थायी तरलता निक्षेप संकलनमा वृद्धि हुन सकेको छैन भने कर्जाको माग उच्च रहेको छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल बैंकिङ प्रणालीमा कायम तरलता अभावका कारण कुनै पनि क्षेत्रमा नयाँ कर्जा लगानी गर्न नसक्ने अवस्था रहेको बताउँछन् ।
‘यस वर्षको सुरुदेखि नै बैंकिङ प्रणालीमा तरलता अभाव छ । यसका बाबजूद ऋणको माग उच्च छ,’ उनले भने, ‘साना कर्जाहरु दिए पनि ठूलो मात्रामा ऋण दिनसक्ने अवस्थामा कुनै पनि बैंक छैनन् ।’
पहिलो त्रैमासमा आक्रामक कर्जा विस्तारको साइड इफेक्ट देखिएको उनले बताए । कर्जा विस्तारको तुलनामा निक्षेपको अनुपात न्यून भएकाले तत्काल यो समस्या समाधान नहुने उनको भनाइ छ । ‘अन्तिम त्रैमासमा तरलता समस्या केही सहज भए पनि ऋण दिनसक्ने बैंकको क्षमता भने बढ्ने देखिँदैन,’ उनले भने ।
राष्ट्र बैंकले चालु आवको मैद्रिक नीति मार्फत निजी क्षेत्रको कर्जा विस्तारको लक्ष्य १९ प्रतिशत राखेको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले चालु वर्षको ६ महिनामै ६० प्रतिशत कर्जा विस्तार गर्दा पनि अहिले समस्या भएको बैंकरहरु नै बताउँछन् ।
राष्ट्र बैंकले तय गरेको लक्ष्य अनुसार बैंकहरुले यस आर्थिक वर्ष भरीमा करिब ७ खर्ब ६ अर्ब रुपैयाँ कर्जा विस्तार गनुपर्ने हो । तर, ६ महिनामै ४ खर्ब २२ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरिसकेका छन् ।