काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गतसाता करिब ११५ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमै ओरालो लागेको हो ।
सूचक जस्तै कारोबार रकममा पनि सुधार आउन सकेन । आज करिब साढे २ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से ३.६६ अंकले घटेर २५४३.४९ विन्दुमा आइपुगेको छ । यसदिन २३० कम्पनीको २ अर्ब ४९ करोड ३१ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै १.२४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह सबैभन्दा धेरै २.०८ प्रतिशतले घटेको छ ।
कारोबार भएका २३० कम्पनीमध्ये ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको घटेको छ । २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड बढीको सेयर किनबेच भएको छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स १४ करोड र
अपी पावर ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज मैलुङ खोला जलविद्युत्का सेयरधनीले सबैभन्दा धेरै ७.८० प्रतिशत कमाएका छन् । त्यैगरी, सामलिङ पावर ४.४८, नेपाल ल्युब ३.९९, न्यादी हाइड्रोपावर २.७४, एनआइबीएल समृद्धि फण्ड–२ र ग्लोबल आइएमई सम्मुनत स्कीम १ को सेयर मूल्य साढे २ प्रतिशतले बढेको छ ।
त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल र प्रभु इन्स्योरेन्सको मूल्य २ प्रतिशतले बढेको छ । घट्दो बजारमा आज शिवम् सिमेन्टका सेयरधनीले सबैभन्दा धेरै ७.११ प्रतिशत गुमाएका छन् ।