काठमाडौं । पर्यटकीय नगरी पोखरा हवाई हब बन्दै गएको छ । काठमाडौं केन्द्रित आन्तरिक हवाई सेवा पछिल्लो समय पोखरा केन्द्रित हुन थालेको हो ।
वायुसेवा कम्पनीहरूले पोखरालाई केन्द्र विन्दु बनाउँदै धमाधम अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न थालेका छन् । यसले हवाई कम्पनीहरूको व्यापार बढ्नुका साथै यात्रुलाई सुविधा समेत भएको छ ।
शनिबार बुद्ध एयरले पोखराबाट जनकपुर सिधा उडान सुरु गरेसँगै पोखरा (प्रदेश १ बाहेक) देशका सबै प्रदेशमा सिधा हवाई सेवामार्फत जोडिएको हो । अब पोखराबाट देशका सबै प्रदेशका क्षेत्रीय सहरहरूमा सिधा हवाई उडान विस्तार भएको छ ।
कहाँ-कहाँ हुन्छ सिधा उडान ?
पोखराबाट हवाई सेवामार्फत सबैप्रदेश जोड्नेमा बुद्ध एयर अग्रपंक्तिमा रहेको छ । बुद्धले गण्डकी प्रदेशको पोखराबाट देशका अरु ६ वटै प्रदेशमा सिधा हवाई उडान संचालन गर्ने योजना अनुसार धमाधम अन्तर प्रदेश उडान गरिरहेको हो ।
पछिल्लो समय नयाँ जहाज थप्दै आक्रमक रुपमा गन्तव्य विस्तार गरिरहेको बुद्धले पोखराबाट सुदूरपश्चिमको धनगढी, लुम्बिनीको नेपालगन्ज र भैरहवा, मधेशको जनकपुर, वाग्मती प्रदेशको भरतपुर र काठमाडौं सिधा उडान सुरु गरिसकेको छ । आगामी दिनमा प्रदेश नं. १ को विराटनगर र भद्रपुरलाई समेत पोखरासँग जोड्ने बुद्धको तयारी छ ।
गुण एयरलाइन्सले अहिले काठमाडौं बाहेक पोखराबाट तीन वटा रुटमा उडान गरिरहेको छ । गुणले अहिले पोखरा नेपालगञ्ज, पोखरा–भैरहवा र पोखरा–भरतपुर रुटमा सीधा उडान गरिरहेको छ । यस्तै, आगामी मार्चदेखि पोखरा–जनकपुर उडान गर्ने तयारी गरिरहेको छ ।
यात्रुलाई सुविधा, पर्यटनमा टेवा पुग्ने
पोखराको पर्यटकीय हब भएकाले देशका जुनसुकै ठाउँका व्यक्ति घुम्नका लागि त्यहाँ जान्छन् । त्यसैलाई मध्येनजर गर्दै वायुसेवा कम्पनीहरूले धमाधम पोखराबाट अन्य सहरहरूमा सिधा हवाई उडान थालेका हुन् । यसअघि पोखराबाट मनाङ, मुस्ताङमा मात्र सिधा हवाई उडान हुने गरेकोमा अहिले देशका सातै प्रदेशमा हुन थालेको हो ।
पोखराबाट अन्तर प्रदेश सिधा हवाई उडान हुँदा यात्रुलाई सहज र सरल हुनुका साथै दोहोरो खर्च समेत घटाएको छ । त्यस्तै, विमान कम्पनीहरूको व्यापार वृद्धि भएको छ भने पोखराको पर्यटन विकासमा टेवा पुग्नेछ ।यस्तै, पोखराबाट क्षेत्रीय सहरहरूमा सिधा हवाई उडान हुँदा देशको अन्तराष्टिय त्रिभुवन विमानस्थलमा चाप समेत कम हुन्छ ।
पछिल्लो समय पोखरामा पर्यटकीय गतिविधि बढ्दा यात्रुको अभाव नभएको हवाई कम्पनीहरूले बताएका छन् । सिधा उडान सुरु भएका सहरहरूमा यात्रुको अवस्था सन्तोषजनक रहेका कारण उडानहरू थप्न सहज भएको कम्पनीहरूको भनाइ छ ।
कोरोनाका कारण विदेशी पर्यटक न्यून भए पनि आन्तरिक पर्यटकले पोखराको पर्यटन चलायमान बनाउँदै लगेको व्यवसायीहरू बताउँछन् ।