काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल सरचार्ज) वृद्धि गरेका हुन् ।फ्युल सरचार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढेको हो ।
निगमले गत बिहीबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल सरचार्ज बढाएका हुन् ।
हवाई इन्धनको मूल्य प्रतिलिटर ११६ रुपैयाँबाट बढाएर १२६ रुपैयाँ पुर्याइएको छ । वायुसेवा संचालक संघले फ्युल सरचार्ज न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ५४० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
विराटनगर-नेपालगञ्जको सबैभन्दा धेरै ५४० रुपैयाँले सरचार्ज बढेको छ। अब यस रुटको न्यूनतम भाडादर ७ हजार ३०५ रुपैयाँ पुगेको छ ।त्यस्तै, काठमाडौं-सिमरा रुटको सबैभन्दा कम ९० रुपैयाँ बढेको छ ।
त्यसैगरी, काठमाडौं-धनगढी ४४५ रुपैयाँ, काठमाडौं-विराटनगर २४० रुपैयाँ, काठमाडौं-भद्रपुर ३०० रुपैयाँ, काठमाडौं-पोखरा १५५रुपैयाँ, काठमाडौं-नेपालगञ्ज ३३० रुपैयाँ, माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ फ्युल सरचार्ज बढेको छ ।
