प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ लाख बेरोजगार सूचीकृत, जम्मा ३४ हजारले पाए काम

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत भएकामध्ये करिब ५ प्रतिशतले मात्र रोजगारी पाएका छन् । उक्त कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कुल ७ लाख ८ हजार ४४ जना सूचीकृत भएकोमा जम्मा ३४ हजार ८६४ जनाले मात्र रोजगारी पाएका हुन् ।

 

७५३ स्थानीय तहमध्ये ६५७ स्थानीय तहले चालु आवको माघ मसान्तसम्म झन्डै ३५ हजार जनालाई रोजगारी दिएका हुन् । कुल १५ हजार ९८९ कार्यक्रममा ४१ दिनदेखि ६० दिनसम्मका लागि रोजगारी प्रदान गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।

 

सरकारले चालु आवमा उक्त कार्यक्रम अन्तर्गत न्यूनतम २ लाख जनालाई रोजगार प्रदान गर्ने लक्ष्य राखेको भए पनि ७ मिहना बित्दासम्म जम्मा ३४ हजार ८६४ जनालाई रोजगारी प्रदान गरेको हो ।

 

रोजगार कार्यक्रम अन्तर्गत चालु वर्षमा हालसम्म ७८ करोड २४ लाख ७२ हजार रुपैयाँ खर्च भएको कार्यक्रमले जनाएको छ । चालु वर्षमा यस कार्यक्रमका लागि कुल १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका सहसचिव डण्डुराज घिमिरेका अनुसार बेरोजगारीको सूची बढे पनि आवश्यकता हेरेर मात्र रोजगार प्रदान गर्ने भएकोले प्रभावकारी देखिन नसकेको हो । उनले प्रत्येक प्रदेशको स्थानीय तहबाट विपन्न बेरोजगारलाई मात्र रोजगारको अवसर दिने भएकोले संख्या धेरै बढ्न नसकेको उनले बताए ।

 

‘हामीले विपन्नबाट पनि अति विपन्नलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०० दिनको काम दिने हो, जतिको नाम सूचीकृत भए पनि त्यस मध्ये छानेर अतिविपन्नलाई मात्र रोजगार दिँदा संख्या कम देखिएको हो,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।

 

कुन प्रदेशले कतिलाई दिए रोजगार ?

 

प्रदेश १ : प्रदेश १ ले चालु आवमा कुल ६ हजार ६ जनालाई रोजगार प्रदान गरेको छ । उक्त प्रदेशमा रहेको कुल १३७ स्थानीय तहमध्ये १२८ स्थानीय तहले झण्डै २ हजार ३५९ कार्यक्रममा उक्त संखयाका मानिसहरुलाई रोजगार प्रदान गरेका हुन् । सो स्थानीय तहहरुले औसतमा ६० दिनका लागि रोजगार प्रदान गरेको कार्यक्रमले जनाएको छ ।

 

मधेश प्रदेश : यस (प्रदेश २)ले २ हजार ८८७ जनालाई चालु आवमा रोगार प्रदान गरेको छ । १३६ मध्ये ९० स्थानीय तहले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रदान गरेका हुन् । उक्त प्रदेशले १ हजार ७९२ कार्यक्रमहरुमा औसतमा ४१ दिनका लागि रोजगार प्रदान गरेको हो ।

 

वाग्मती प्रदेश  : वाग्मती प्रदेशले चालु आवमा ४ हजार ९०४ जनालाई रोजगार प्रदान गरेको छ । ११९ स्थानीय तह रहेको वाग्मती प्रदेशका १०७ स्थानीय तहले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रदान गरेका हुन् । उक्त स्थानीय तहले २ हजार १४० कार्यक्रम औसतमा ५२ दिनका लागि रोजगार प्रदान गरेको हो ।

 

गण्डकी प्रदेश : गण्डकी प्रदेशले चालु आवमा कुल १ हजार ७८४ जनालाई रोजगार प्रदान गरेको छ । ८५ स्थानीय तह रहेको यस प्रदेशको ७३ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रदान गरेका हुन् । उक्त स्थानीय तहले १ हजार ७५५ कार्यक्रममा औसतमा ४७ दिनका लागि रोजगार प्रदान गरेको हो ।

 

लुम्बिनी प्रदेश :  लुम्बिनी प्रदेशले ५ हजार ४६० जनालाई रोजगार प्रदान गरेको छ । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशको १०४ स्थानीय तहले २ हजार ८०४ कार्यक्रममा रोजगारीको अवसर दिएका हुन् । लुम्बिनी प्रद्येशले औसतमा ४२ दिनका लागि रोजगार प्रदान गरेको थियो ।

 

कर्णाली प्रदेश :  कर्णाली प्रदेशले चालु आवमा कुल ५ हजार ७५० जनालाई रोजगार प्रदान गरेको छ । ७९ स्थानीय तह रहेको यस प्रदेशको ७१ स्थानीय तहले १ हजार ९४४ कार्यक्रममा उक्त संख्याका मानिसहरुलाई रोजगार प्रदान गरेको हो । सो स्थानीय तहहरुले औसतमा ७५ दिनका लागि रोजगार प्रदान गरेको कार्यक्रमले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेश : चालु आवमा सुदूरपश्चिम प्रदेशले ८ हजार ७३ जनालाई रोजगार प्रदान गरेको छ । उक्त प्रदेशमा रहेको ८८ स्थानीय तहमध्ये ८४ स्थानीय तहले उक्त संखयाका मानिसहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रदान गरेको हो । उक्त स्थानीय तहहरुले ३ हजार १९५ कार्यक्रममा प्रत्येक व्यक्तिलाई सरदरमा ५८ दिन रोजगार प्रदान गरेका थिए ।

 

नेप्सेमा उच्च अंकको गिरावट, कुन-कुन कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक ? Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, कुन-कुन कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक ?

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु Read Next

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु