‘डिजिटल वालेट’ले ट्राभल एजेन्सीको टिकट व्यापार सुकाएकै हुन ?

काठमाडौं । सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटको प्रयोगले मानिसको जीवनशैली सहज बनाएको छ । ई-सेवा, कनेक्ट आइपीएस, खल्ती, आइएमई पे लगायत अनलाइन पेमेन्टको माध्यमले भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्त बनाएको हो ।

 

हाल नेपालमा करिब दुई दर्जन बढी डिजिटल वालेट संञ्चालनमा रहेका छन् भने करिब तीन दर्जनले नेपाल राष्ट्र बैंकबाट भुक्तानी गर्न अनुमती लिएका छन् । यस प्रकारका वालेटबाट घरमै बसेर सजिलै बिजुली, खानेपानीको बिल भुक्तानी, बीमाशुल्क, शैक्षिक शुल्क, एयरलाइन्सको टिकेट लगायत विभिन्न शुल्कहरू भुक्तानी गर्न सकिन्छ ।

 

कुनै बेला कागजी ढड्डाबाट सुरू भएको बैंकिङ प्रणालीमा अहिले व्यापक रुपान्तरण आएको छ । हरेक बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो वालेटका साथै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको सुविधा प्रयोग थालेसँगै ग्राहकहरूले सजिलै एक ठाउँबाट अर्कोठाउँ र एक खाताबाट अर्को खातामा पैसा भुक्तानी गर्नसक्ने भएका हुन् ।

 

विगत तीन वर्षदेखि सुरू भएको कोरोना महामारीले पनि मानिसलाई डिजिटल माध्मको प्रयोगतर्फ प्रोत्साहन गरेको देखिन्छ । यसले मानिसको अनिवार्य आवश्यकताको रूपमा जबरजस्त स्थापित गरिदिएको छ ।

 

डिजिटल वालेटको विकासले एयरलाइन्स कम्पनीको टिकट खरिद गरिदिने ट्राभल एजेन्सीहरूको टिकट व्यवसायमा भने केही गिरावट ल्याएको छ । यसले उनीहरूको व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको कतिपय व्यवसायीहरूको भनाइ छ ।

 

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल  एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत शर्मा गुराँगाई कोभिडले कति व्यवसाय प्रभावित भयो भन्ने एकीन तथ्यांक नरहे पनि विभिन्न वालेट पेमेन्टहरुको कारणले ५० प्रतिशत ट्राभल एजेन्सीको व्यवसाय बन्द अवस्थामा रहेकोे बताए ।

 

‘अन्तर्राष्ट्रिय टूर छैन्, केही आन्तरिक व्यवसाय मात्रै छ , त्यसैले उनीहरुले टिक्न नसकेर पलायन हुने अवस्थामा छन् । विशेषगरी आन्तरिक टिकेटिङ व्यवसाय गर्नेहरुको कम्पनी डिजिटल वालेटको प्रभावमा परेका छन्,’ उनी भन्छन्, ‘यो एउटा अवसर पनि हो, हिजो टिकट बेचेर ५० रुपैयाँ कमाउने व्यवसायी अहिले पर्यटक घुमाएर ५०० सम्म कमाउँछन् । उसको विजनेश स्ट्यान्र्डर नै बढेको छ ।’

 

साथै, यसको विकल्पको रूपमा टिकेटिङ गरेर बसिरहेका कम्पनीहरुले टूर प्याकेज गर्न थालेका छन् । एउटा आविष्कारले बिजनेश घटाए पनि त्यसले नै नयाँ अवसर सृजना गरेर जाने उनले बताए ।

 

यस्तै, नाट्टा)का  पूर्व अध्यक्ष सीएन पाण्डे प्रविधिसँगै छिटो परिवर्तन हुन नसक्ने व्यवसाय संकटमा परेको बताउँछन् । ‘प्रविधिको विकासले सहज बनाए पनि त्यसलाई एडप्ट गर्न नसक्ने व्यवसायहरू बन्द अवस्थामा पुगेका छन्,’ उनले भने, ‘अहिले एजेन्सीहरूले नयाँ सिष्टम चलाएर व्यापार बढाएका छन् । समयको परिवर्तनसँगै नयाँ प्रणालीको विकास भइरहन्छ त्यसैले ट्राभल एजेन्सीहरूले पनि प्रविधितर्फ लाग्नु पर्छ ।’

 

डिजिटलको क्रममा रहेका यस्ता प्रविधिको प्रयोग नगरिए ब्यवसाय नै बन्द हुने उनले बताए । यसअघि यात्रुहरूले एजेन्सी मार्फत एयरलाइन्सहरूको टिकट काट्ने प्रचलन रहेको थियो । जसले गर्दा उनीहरूले टिकट काटिदिए बापत एयरलाइन्स कम्पनीहरूबाट केही कमिसन पाउँथे । अहिले डिजिटल माध्यमबाट आएको रुपान्तरणले उनीहरूको भौतिक रूपमा काटिने टिकट व्यवसाय बन्दको अवस्थामा पुगेको छ ।

 

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्ण पछिल्लो समय डिजिटल टिकटको प्रयोगले यात्रु संख्या बढनुको साथै भौतिकरूपमा आएर टिकट काट्नुपर्ने समस्याबाट मुक्त भएको बताउँछन् । ‘हाम्रो तथ्यांक केलाउने हो भने अनलाइन टिकटिङले झण्डै ६० देखि ७० प्रतिशत यात्रुको संख्यामा वृद्धि भएको छ,’ उनले भने, ‘टिकट काट्न भौतिक रूपमा कार्यालय पुग्नुपर्ने बाध्यताको अन्त्यका साथै यात्रुलाई समेत सहजता ल्याएको छ ।’

 

विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवा प्रदायकहरूले टिकटिङमा सहजता ल्याएको उनले बताए । अहिले कतिपय ट्राभल एजेन्सीहरूले समेत अनलाइन टिकेटिङ सेवा सुरू गरेका छन्, त्यसले गर्दा उनीहरूको व्यवसायमा त्यत्ति धेरै असर गरेको छैन् ।

 

डिजिटल वालेटहरूले ट्राभल एजेन्सीको कार्यालयको संख्या घटाउनुका साथै एयरलाइन्स कम्पनीहरूको खर्चमा समेत कमी ल्याएको उनले बताए ।

 

नेप्सेमा ७३ अंकको उतरचढाव, हाइड्रोपावरमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी Read Previous

नेप्सेमा ७३ अंकको उतरचढाव, हाइड्रोपावरमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

शिवरात्रीका लागि यसरी सजाइयो पशुपति (फोटोफिचर) Read Next

शिवरात्रीका लागि यसरी सजाइयो पशुपति (फोटोफिचर)