काठमाडौं । पछिल्लो समय कृषि पेसामा युवाहरूको आकर्षण बढ्दो छ । व्यवसायिक तरकारी, फलफूल खेतीदेखि गाई, बाख्रा, कुखुरा पालन लगायतमा युवाहरू होमिएका छन् ।
स्वदेशमै रहेकोदेखि विदेशमा पढेर फर्केका समेत कृषिमा आबद्ध हुन थालेका छन् । कृषि प्रधान देश भनिए पनि तरकारीदेखि खाद्यान्नसम्म विदेशमै निर्भर रहनु पर्ने अवस्था छ । यस्तो अवस्थामा कृषिमा युवाहरूको प्रवेशले केही आशावादी हुन सकिन्छ ।
पछिल्लो समय राजनीतिमा लागेकाहरू पनि कृषि पेसामा लाग्न थालेको छन् । देशको मूल नीति राजनीतिबाटै देशको मुहार फेर्न सकिन्छ भन्ने युवाहरू पनि कृषिप्रति आकर्षित हुन थालेको देखिन्छ ।

त्यस्तै, मध्येका एक युवा हुन् सिन्धुलीको गोलन्जोर गाउँपालिका २ का हरिकिशोर कार्की । शिक्षाशास्त्रमा स्नातक गरेका २९ वर्षीय कार्की २०७४ सालको स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा चुनावमा हारसँगै कृषि पेसामा होमिए ।
चुनावमा हारेसँगै गाउँबाटै केही गर्नुपर्छ भन्ने सोच पलाएर आफू कृषिमा होमिएको उनी बताउँछन् । आर्थिक समृद्धिको मुख्य आधार कृषिबाट पनि समाज र आफ्नो आर्थिक अवस्था उकास्न सकिन्छ भन्ने लागेर आफू बाख्रापालनमा लागेको उनको भनाइ छ ।
समाज सेवा र कृषि उत्पादनलाईसंगै लैजाने सोच सहित कृषि पेसामा होमिएको बताउने कार्की आम युवा कृषिमा आउने हो भने रोजगारीको लागि कतै भौतारीनु नपर्ने र आर्थिक अभिवृद्धि गर्न सकिने बताउँछन् । ‘अबको आर्थिक समृद्धिको आधार कृषि नै हो, आम युवा कृषि पेसामा आबद्ध भए आर्थिक अभिवृद्धि हासिल गर्न सकिन्छ,’ कार्की भन्छन् ।
विगत ३ वर्ष अघि १० वटा खसीबाख्राबाट सुरू गरेको उनको व्यवसायले ठूलो फड्को मार्न सफल भएको छ । सुरूआतमा कार्कीले १० वटा खसीबाख्राबाट व्यवसाय सुरू गरेका थिए भने हाल खसीबाख्राको संख्या १०० हाराहारीमा पुगिसकेको छ ।

‘मैले सुरूआतमा १ लाख ५० हजारबाट व्यवसाय सुरू गरेको हुँ, हाल खसीबाख्राको संख्यासंगै लगानी पनि वृद्धि भएको छ,’ उनले भने । उनले ३ वर्ष अघि हमाल कृषि खेती पशुपंक्षी तथा माछा पालन फर्म दर्ता गराएर व्यवसायिक रूपमा कृषिकर्ममा होमिएका थिए । कार्कीले बाख्रापालनका लागि १५ रोपनी जग्गा लिजमा लिएका छन् ।
साढे २ लाखमा अष्ट्रेलियाबाट बोका ल्याए
३ वर्ष अघि व्यवसायिक बाख्रापालनमा होमिएका कार्कीले साढे २ लाख खर्च गरेर अष्ट्रेलियाबाट उन्नत जातको (बोयर) बोका ल्याएको बताउँछन् । ‘लोकल बाख्रबाट धेरै फाइदा लिन सकिँदैन । उन्नत जातको बाख्रा उत्त्पादनका लागि मैले अष्ट्रेलियाबाट २ लाख ६० हजारमा एउटा बोयर जातको बोका ल्याएको थिएँ, त्यसको क्रस हाल उत्पादन भइ रहेका छन्,’ उनी भन्छन् ।
उनको फर्ममा उत्पादन भएका क्रस बोयर जातका बोकाप्रति गोटा २० देखि ३० हजार सम्ममा बेच्दै आएका छन् । फार्म संचालन गरेको सुरूआतमा राम्रो आम्दानी नभए पनि अहिले आम्दानी हुन थालेको काकी बताउँछन् । ‘मासिक ३०/४० हजार कमाउनै लाखौं युवा विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । कर्म गरे आफ्नै थलोमा पनि राम्रै आम्दानी गर्न सकिन्छ । ब्राखापाल्दा सुरूमा आम्दानी हुँदैन तर। केहीवर्षपछि आम्दानी हुन थाल्छ । अहिले वार्षिक ५ लाख आम्दानी हुन थालेको छ, आगामी वर्षहरूमा यस्तो आम्दानी बढ्दै जान्छ, उनी भन्छन् ।

उनको व्यवसायमा उनका घर परिवारले सहयोग गर्दै आएका छन् । तर आफ्नो लक्ष्य यतिमै सीमित नभएको बताउने उनी अझ कृषि पेशालाई विस्तार गर्दै लैजाने बताउँछन् । व्यवसायिक खसीबाख्रा पालनसँगै अब तरकारीखेती गर्ने उनको योजना छ । ‘मेरो लक्ष्य यति मै सीमित छैन, कृषिलाई अझ विस्तारित बनाउन टनेल निर्माण र सिचाइँ पोखरी निर्माण गर्ने सोच रहेको छ,’ कार्की भन्छन् ।
सहुलीयत ऋण लिन झन्झटिलो
सरकारले कृषिको लागि सहुलियत ऋणको व्यवस्था गरेको भए पनि ऋण लिन झन्झटिलो भएको हरेक किसानले गुनासो गर्दै आएका छन् । यता कार्कीको भोगाइ पनि उस्तै छ । सहुलियत ऋण कर्जा लिने प्रक्रिया झन्झटिलो भएकाले आवश्यक परेको बेला ऋण नपाउँदा समस्या भएको उनी बताउँछन् ।
‘मैलै फर्म संचालन गरेको ३ वर्ष भयो, सहुलियत ऋण लिने प्रक्रिया सुरू गरेको पनि त्यति नै बित्यो । तर, हालसम्म पनि त्यो प्रक्रियामै सीमित छ, बैंकले गाउँका किसानलाई विश्वास नगर्ने र धितो खोज्ने भएकाले समस्या हुने गरेको छ,’ कार्कीले भने ।
केही टाठाबाठा र राजनीतिक दलको नेतासँग पहुँच भएकाहरूले सहुलियत ऋण लिएको देखे पनि आफू जस्ताले सहज ऋण पाउने अवस्था नरहेको उनको भनाइ छ ।
सरकारले मनदेखि सहयोग गरे कृषिमा फड्को मार्न सकिन्छ
युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षिक गर्न सके आर्थिक समृद्धि हासिल हुन्छ भन्ने सोचाइ भएका हरिकिशोर यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गर्छन् ।

आफू कृषि क्षेत्रमा व्यवसायिक रूपमा होमिएको धेरै नभएको र हालसम्मको आफ्नो अनुभवको आधारमा यस क्षेत्रमा धेरै समस्या देखिएको बताउने उनी सरकारले कृषि क्षेत्रमा भएका समस्या समाधान गरेर युवालाई यस क्षेत्रमा आकर्षित गर्न उनले आग्रह गरेका छन् ।
‘कृषि क्षेत्रमा छोटो समयमा मैले पाएको अनुभवको आधारमा कृषि क्षेत्रमा आधुनिक प्रविधि, ज्ञान तथा तालिमको अभाव,विचौलियाको विगविगी, गुणस्तरीय बीउबिजनको अभाव, उचित लगानीको अभाव,बजारीकरणको अभाव रहेकाले यी विषयमा स्थानीय सरकारले सहयोग गरे कृषि क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ,’ उनले भने ।
अबको चुनावमा…
युवा हरेक क्षेत्रमा आवश्यक छन् । युवाको जोशजाँगर र कर्मले जुनसुकै क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ । व्यापार, व्यवसाय, कृषि, शिक्षा, स्वाथ्य, राजनीति लगायत क्षेत्रमा युवाको सहभागिताले परिवर्तन ल्याउन र उपलब्धी हासिल गर्न सकिन्छ ।
देश विकासमा युवाको खाँचो छ, युवा अघि बढ्नुपर्छ भन्ने धारण राख्ने कार्की आगामी स्थानीय तहको चुनावमा भने उम्मेदवारी दिने सोच नभएको बताउँछन् । यद्यपि, समाजले आफ्नो आवश्यकता खोजे फेरि उम्मेदवारी दिने बताउँछन् । ‘पुनः स्थानीय चुनावमा उम्मेदवारी दिने सोच त छैन । तर समय र समाजले आफ्नो आवश्यकता खोज्यो भने नाइ भन्दिन,’ उनले भने ।